गुणस्तरीय शिक्षासँगै एपेक्स लाइफ स्कुल कपन काठमाडौमा भानु प्रतिष्ठानको सहकार्यमा भानुजयन्ती मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गुणस्तरीय शिक्षासँगै एपेक्स लाइफ स्कुल कपन काठमाडौमा भानु प्रतिष्ठानको सहकार्यमा भानुजयन्ती मनाइयो

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, बिहीबार

    काठमाडौँ । काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९ औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

    हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मनाउँदै आएको सो स्कुलले बुधबार भानु प्रतिष्ठानसँगको सहकार्यमा अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।एपेक्स स्कुल र भानु प्रतिष्ठानले लामो समयदेखिको सहकार्यमा गर्दै आएको श्रष्टासम्मान कार्यक्रमबाट यसवर्ष वरिष्ठ कवी प्राडा कृष्णहरि बराललाई नगद पुरस्कारसहित खादा, माला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

    सम्मान कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् वरिष्ठ साहित्यकार बलदेव शर्मा मजगैँयाले नेपाली भाषा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको महत्व चीरकालसम्म रहिरहने बताए । उनले नेपालमा भन्दापनि नेपालबाहिर बस्ने धेरै नेपालीले भानुभक्तलाई सम्झने गर्ने गरेको स्मरण गरे ।

    सम्मानित व्यक्ति प्राडा बरालले सम्मानले आफूलाई थप जिम्मेवारीबोध गराएको र भाषासाहित्यको क्षेत्रमा थप सक्रिय भएर लाग्ने प्रेरणा दिएको बताए । उनले विद्यालयलाई थप अगाडि बढ्न सुझाव समेत दिए ।

    विद्यालयका कार्यकारी निर्देशक एवम् राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले भानुभक्तको जन्मथलो तनहुँको चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्ने बताए । उनले आफ्नो स्कुलले सदैव भाषासाहित्यको सेवामा समर्पित रहने र प्रशंसनीय योगदान गर्ने श्रष्टाको सम्मानलाई निरन्तरता दिने उल्लेख गरे ।

    प्रतिष्ठानका अध्यक्ष प्राडा व्रतराज आचार्यले राष्ट्रका योजकहरूमाथि प्रश्न उठिरहेको आजको समयमा भाषाका माध्यमबाट देशको एकीकरण गर्ने भानुभक्तको महत्व अझै चुलिएको बताए । उनले भानु प्रतिष्ठानले भानुभक्तको जन्मजन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्नेसमेत बताए ।

    उक्त विद्यालयले यसअघि भानु जयन्तीको अवसरमा रमेश विकल, पूर्णप्रकाश नेपाल यात्री, वसन्तकुमार सम्मा, डा. तुलसी भट्टराई, महेश पौडेललगायतका अग्रज श्रष्टालाई सम्मान गरिसकेको विद्यालयका प्रधानाध्यापक प्रभात क्षेत्रीले जानकारी दिए ।

    विस २०५० सालमा स्थापना भएको एपेक्स लाइफ स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संस्कारयुक्त शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयका निर्देशक विन्दु अधिकारीले जानकारी दिए । २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् ।

    सोही कार्यक्रममा वरिष्ठ कवीहरु भाग्यशाली अधिकारी, महेश पौडेल, रामबहादुर पहाडी, देवी बराल, शिवराज खनाल, मधुस न्यौपाने, देवु लुँईटेल, प्रभा भट्टराई, मधुसुदन लामिछाने, बलराम दाहाल, ढुण्डीराज पोखरेललगात कविता बाचन गरेका थिए ।

    वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुलकी चापागाईँ प्रथम

    एपेक्स लाइफ स्कुलले २०९ औँ भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको ‘देश निर्माणमा युवाको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा पाठशाला स्कुल बानेश्वरकी छात्रा शिक्षा चापागाईँ प्रथम भएकी छन् ।

    यस्तै, वतृत्वकला प्रतियोगितामा भ्याली भ्यू स्कुलका छात्र पार्थ पराजुली दोस्रो, पाणिनी स्कुलकी छात्रा सिम्रन प्रसाईँ तेस्रो र काठमाडौँ प्रज्ञान कुञ्ज स्कुलकी छात्रा रियाना वोगटीले सान्तना पुरस्कार हासिँल गरेकी छन्।

    प्रथम, द्धितीय, तृतीय र सान्तना हुने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । सोही अवसरमा विद्यालयकी शिक्षिका चण्डिका भेटवालको निर्देशनमा पाँच कक्षामुनी अध्ययनरत विद्यार्थीले भानुभक्तको रामायण वाचन गरेका थिए ।