दमाैली । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत विद्युतगृहको सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज २ अन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले शुक्रबार विद्युतगृहको सुरुङ खन्ने काम सम्पन्न गरेको हो ।
८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृतगृहको सुरुङ खन्ने काम सकिएको तनहुँ हाइड्रोपावर लिमिटेडका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
“मुख्य चुनौतिपूर्ण रहेको भूमिगत विद्युतगृहको सुरुङ खन्ने काम सफलतापूर्वक सम्पन्न भएको छ,” भण्डारीले भने, “अब विद्युतगृहभित्र पूर्वाधार निर्माणको काम सुरु हुन्छ ।” विद्युतगृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको थियो । “यहाँको ढुङ्गा कमजोर रहेकाले यो चुनौतिपूर्ण काम थियो, अब भूमिगत सुरुङभित्र पूर्वाधारको काम पनि छिट्टै सुरु गर्ने तयारी छ,” भण्डारीले भने ।
आयोजना अन्तर्गत पानी ल्याउने सुरुङमा भने काम भइरहेको छ । एक हजार चार सय ५० मिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म तीन सय ५० मिटर खनिसकिएको छ । इन्टेकको काम भने गर्न बाँकी रहेको भण्डारीले जानकारी दिए।
प्याकेज १ अन्तर्गत डाइभर्सन टनेलको काम भइरहेको छ । पहुँच सुरुङ एक सय मिटर खनिसकिएको छ । आयोजनाको प्याकेज २ अन्तर्गत सर्च ट्याङ्क जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । सिनो हाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको थियो । त्यस्तै २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ पनि सम्पन्न भइसकेको छ ।
प्याकेज ३ अन्तर्गत प्रशारण लाइनमा हालसम्म ४८ वटा फाउण्डेशनको कार्य सम्पन्न भएको छ । प्रशारण लाइन निर्माणका लागि २५ वटा टावर जडान भइसकेको आयोजनाले जनाएको छ ।
चितवनतर्फको जग्गा अधिग्रहण गर्ने प्रक्रिया चलिरहेको छ । जग्गा अधिग्रहणका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने काम भइरहेको बताइएको छ ।
दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण हुनेछ । प्रशारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम भारतीय कम्पनी केइसीले पाएको छ ।
प्रशारण लाइन निर्माणका लागि कूल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । त्यसका लागि जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ । प्रशारण लाइन निर्माणका क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।
तनहुँ जलविद्युत आयोजनाको मुख्य कार्यलाई तीन प्याकेजमा विभाजन गरी निर्माण कार्य अगाडि बढाइएको छ । आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जे. भीसँगगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ बाट कार्यान्वयनमा आएको छ । सोङ्ग दा–कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ ।
आयोजनाको दोस्रो प्याकेज अन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ ।
आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।