‘श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या’

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, सोमबार

    काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारको चार जना मृत भेटिएको घटना हत्यापछि आत्महत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।

    तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।

    सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार विहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी गरेका थिए । घरमा बोलाउँदा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले ढोका फोडेर हेर्दा चारै जना मृत भेटिएका थिए ।

    प्रहरीले मृतक चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ ।

    हत्यापछि आत्महत्या

    घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनास्थलको अवस्थिति, ‘सुसाइड नोट’ लगायतले यही संकेत गरेको एक अनुसन्धान अधिकृतले बताए ।

    गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुले बताएअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । तर सुनिता र उनको सम्बन्ध राम्रो थिएन ।

    श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको वालाजु वृत्तले तीन पटकसम्म दुबैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन । (अनलाइन खबर)