तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छ: पर्यटनमन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गरिन्छ: पर्यटनमन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७९, सोमबार

    कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् ।

    सोमबार तिलौराकोटको अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले तिलौराकोटको संवर्धन र संरक्षणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताए । भगवान गौतम बुद्धले बाल्यकाल बिताएको र २५ सय वर्षअघिको गणराज्यतिलौराकोट पुरातात्विक दृष्टिकोणबाट विश्वकै महत्वपूर्ण स्थल भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

     तिलौराकोट दरबारलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन जतिसक्दो छिटो आवश्यक प्रकृया पुरा गरिने उनले बताए । तिलौराकोटसहित बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनले बताए ।

    तिलौराकोट दरबारको समुचित विकास एंव प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउँदै उनले यस क्षेत्रको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य जरुरी रहेको बताए ।

    सो अवसरमा लुम्बिनी विकास कोषको सदस्यसचिव सानुराजा शाक्यले बौद्धकालीन इतिहास र तिलौराकोट दरवार क्षेत्रको उत्खननका बारेमामन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

    लुम्बिनीलाई ऐतिहासिक, धार्मिक र पुरातात्त्विक क्षेत्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री श्रेष्ठले बताए । बृहत्तर लुम्बिनी क्षेत्रमा पर्ने लुम्बिनी, तिलौराकोट र रामग्रामको एकीकृत विकास गर्नुपर्नेमा उनले जोड दिए । तिलौराकोट इसापूर्व छैटौं शताब्दीमा योजनाबद्ध सहरीकरण भएको शाक्य राज्यको राजधानी हो । भगवान गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट विश्वभरका बौद्धमार्गीहरूका लागि महत्वपूर्ण स्थल मानिन्छ ।