‘साहुकी छोरी कौशिला घर जान आएकी
बाह्र बिस भरिया अघि लाएकी
छोरामा हुदों हुम्, अंश चिरी खादो हुम्, छोरीको करिम क्यारुम् बरिलै
असजिलो गौडामा बाबा भेट हुनुभो, आशु गिरे बरर क्यारुम् बरिलै !’
गाउँ शहर तिर सबैतिर तीजको माहोल छ । टोल टोलमा महिलाहरु जम्मा भएर तीज गीतमा गाउने नाच्ने गरिरहेका छन् । व्यास नगरपालिका–५ स्थित वेदव्यास जेष्ठ नागरिक आश्रममा बस्ने वृद्वा मिठु केसीले पनि आफूजस्तै आश्रमका बस्ने संगीनीहरुलाई तीजको भाका सुनाउँदै गर्दा भेटिइन् ।
मिठुको गीतमा पैतृक सम्पतिमा छोरा र छोरीबीच गरिने विभेद छर्लङ्ग छ । समाजको यस्तै विभेदको असर स्वरुप बुढेसकालमा मिठु वृद्वाश्रम शरण लिनु परेको छ । मिठुका छोरा, छोरी दुवै छन् । आश्रममा बसेकी आमाको सोधीखोजी छोराले गर्दैनन्, छोरीले चाहिँ समय समयमा भेट्ने आउने गरेको उनले बताईन् ।
तीजमा पनि केसीलाई छोरीको याद आईरहेको छ । ‘छोरी भेट्न आउने कुरा थियो । खोई किन आउन सकिनन्’, उनले भनिन् । विगत तीन वर्षदेखि आश्रममा बस्दै आएकी मिठुको घरमा छोरा नाती छन् तर सँगै बस्ने वातावरण नभएपछि उनी आश्रममा आएकी हुन् ।
महिलाहरुले संचालन गरेको वेदव्यास जेष्ठ नागरिक आश्रमले १० वर्षदेखि मिठु केसी जस्तै साहारा चाहिने बेला बेसाहारा बनेका जेष्ठ नागरिकको हेरचाह र संरक्षण गर्दै आएको छ । आश्रममा अहिले ६ जना जेष्ठ नागरिक छन् । तिज जस्ता हरेक चाडपर्वहरुमा आश्रममा बस्ने जेष्ठ नागरिकहरुले संचालक महिलाहरुबाट सन्तानको सत्कार र मायाको महशुस गर्छन् ।
आश्रम संचालन गर्ने महिलाहरुको व्यवहारले चाडपर्वमा परिवारको अभाव महशुस हुन नदिने उनीहरु बताउछन् । ‘श्रीमान्, छोराछोरी छैनन् । घर माईती दुवैतिर अरुले वास्ता गदैनन् ।आफुले पाउने हक पनि पाउन नसकेपछि आश्रम खोज्दै हिँडे । अहिले यहाँका नानीहरुले छोरीले जस्तै मायाँ दिनुभएको छ’, आश्रममा आश्रित वृद्वा धनमाया श्रेष्ठले भनिन् ।
पारिवारिक तथा सामाजिक अवहेलनाका कारण विक्षिप्त अवस्थामा पुगेका जेष्ठ नागरिकहरु आश्रममा बसेपछि बदलिएका छन् । आश्रममा आएपछि शारीरिक तथा मानसिक स्वास्थ्य, व्यक्तिगत सरसफाई लगायतका कुराहरुमा सकारात्मक परिवर्तन आएको आश्रम सञ्चालकहरु बताउँछन् । ‘उनको नाम हामीले नमुना राखिदिएका छौं । उनी आश्रम आएको ५\६ वर्ष भइसक्यो । सुरु सुरुमा उनी न चप्पल लगाउँथिन् न उनलाई आफ्नो सरसफाई गर्नुपर्छ भन्ने ज्ञान थियो । तर आजकल सफा भएर बस्दछिन् । लुगा उठाउँछिन्, पट्याउछिन्, अनुसासित र नम्र भएर बस्दछिन्’, आश्रम संचालक समिति सचिव निर्मला मल्लले बताईन् । मानसिक असन्तुलनका कारण अस्वभाविक र कमजोर व्यवहार देखाउने कमलाको जिवन आश्रममा आएपछि बदलिएको मल्लको भनाई छ ।
आश्रममा मृत्यु भएका वृद्ववृद्वाको अन्तिम संस्कार पनि सञ्चालक महिलाहरु आफैँले गर्दछन् । आश्रम स्थापना भएदेखि हालसम्म मृत्यु भएका ६ जनालाई महिलाहरुले नै काध हालेर घाटसम्म पु¥याएर दाहसंस्कारको काम गरेका छन् । ‘पितृसत्तात्मक मान्यता बमोजिम महिलाहरु घाट जाने चलन थिएन । हामीले आफँैले लास काँध हाल्यौ । सुरुमा त समाजलाई पचाउन गाह्रो थियो । आजकल अन्तिम संस्कारमा महिलाहरुको सहभागिता बाक्लिदैं गएको देखदा खुशी लाग्छ’, उनले भनिन् । ‘हामी आमा हौं । संस्कारको नाममा छोरा र छोरी विच विभेद गर्ने यस्ता भ्रमहरु हामीले नचिरे कसले चिर्ने ? हामी आमाहरुले व्यवहारबाट नै समनताको सन्देश दिनुपर्छ भनेर लाश बोक्ने आँट गरेका थियौँ’, उनको भनाई छ ।
विभिन्न कारणले घरपरिवार विहिन बनेर सडकमा आउन वाध्य भएका जेष्ठ नागरिकलाई माया सहितको हेरचाह दिने उदेश्य राखेर आश्रम सञ्चालन गरेको सहसचिव सरु श्रेष्ठले बताइन् । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छन्’ भन्ने भनाई मनन गरेर दमौलीकी सावीत्री श्रेष्ठको नेतृत्वमा २०६९ साल पुस १ गते १५ जना महिलाले २÷२ हजार रुपैयाँ उठाएर आश्रम सञ्चालनको सुरुआत भएको थियो ।
सुरुसुरुमा पिकनिक, देउसीभैलो गरेर वृद्ववृद्वा राख्न शुरु गरेको आश्रम अहिले सबैका लागि सामाजिक उत्तरदायित्व वहन गर्ने, सहयोग गर्ने उपयुक्त स्थल बनेको छ । ‘बर्थडे, एनिभर्सरी मनाउन आउनुहुन्छ । सामाजिक संघसंस्थाहरुले पनि सहयोग गरिरहनुहुन्छ’, श्रेष्ठले भनिन् । सबैको सकारात्मक सहयोगले आश्रम सबल बन्दै गईरहेको उनको भनाई छ । भाडाको घरमा कोठाबाट सुरु भएको आश्रमले महायज्ञ गरेर आर्जन गरेको रकमबाट आफ्नै आवास निर्माण गरेको छ ।
अशिक्षा, चेतनाको कमी र गरिबीको कारण वृद्धा अवस्थामा हेला हुने गरेको भन्दै श्रेष्ठले वृद्वाआश्रम खोल्न नपर्ने समाज बनाउन शिक्षा र गरिबी निवारणमा राज्यले ध्यान दिनुपर्ने बताईन् । ‘बुढाबुढीले जिवनको अन्त्यसम्म दुःख नपाउनु । बाचुञ्जेल दुई छाक खान पाउनु भन्ने हो । बाचुञ्जेल राम्रो गर्ने कोशिस गरेका छौं । आश्रम भनेका एउटा मन्दिर हो, बुवाआमा ठानेर पुजेका छौं’, श्रेष्ठले भन्नुभयो । आश्रम सञ्चालनका लागि हाल ३३५ जना महिला सदस्य छन् ।
सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।