‘कक्षा १२ काे परीक्षामा बालमन्दिरकाे नतिजा उत्कृष्ट’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘कक्षा १२ काे परीक्षामा बालमन्दिरकाे नतिजा उत्कृष्ट’

    अञ्जना तिमल्सेना

    २४ भाद्र २०७९, शनिबार

    दमाैली । तनहुँका सामुदायिक विद्यालयहरुमध्ये व्यास २ स्थित बालमन्दिर माध्यमिक विद्यालयले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालय कक्षा १२ सञ्चालनको पहिलो वर्षमा नै ६८.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । वि.सं. २०७६ सालबाट कक्षा ११ सञ्चालन गरेको यस विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा प्राप्त गरेको हो ।

    २०७८ को एसइईमा समेत उत्कृष्ट नतिजा सहित विद्यालयका ९८ प्रतिशत विद्यार्थीले कक्षा ११ अध्ययन गर्न पाएको प्रधानाध्यापक राजेन्द्र खनालले बताए । देशभर कक्षा १२ को नजिता सन्तोषजनक नभएको अवस्थामा बालमन्दिर माविको नजिताले शिक्षक, विव्यस एवं शिअसंघलाई हर्षित बनाएको खनालले बताए ।

    प्रधानाध्यापक खनालका अनुसार विद्यालयको व्यवस्थापन र शैक्षिक गतिबिधि सुधारमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठसगैँ शिअसंघका अध्यक्ष हरिप्रसाद शर्माको भूमिका प्रशंसायोग्य रहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या श्रेष्ठ विद्यालयको गुणस्तर बृद्धिमा अनवरत खटिनु भएको छ, प्रअ खनालले भने ।’

    हाल बाल शिक्षादेखि कक्षा १२ सम्मको अध्यापन गरिदै आएको बालमन्दिरमा विद्यार्थीको चाहना बमोजिम नेपाली र अंग्रेजी दुबै भाषा माध्यममा पठनपाठन गराइन्छ । विद्यार्थीको चाहनालाई पुरा गर्न सकेको खण्डमा विद्यालयले राम्रो नतिजा ल्याउने प्रधानाध्यापक खनालको विश्वास छ ।

    तनहुँका सामुदायिक विद्यालयहरुमा अब्बल हुन प्रयासरत बालमन्दिर माध्यमिक विद्यालयका मावि १, निमावि ४, प्रावि ११, अनुदान कोटा १ र बालविकास २ का साथै केही निजी शिक्षकहरु अनवरत रुपमा खटिएको हुदाँ विद्यालयले उत्कृट नतिजा ल्याउन सफल भएको प्रअ खनालको दावी छ ।

    हाल विद्यालयमा कक्षा १ देखि १० सम्म ५ सय ३० र कक्षा ११÷१२ मा १ सय ५० गरी जम्मा ६ सय ८० विद्यार्थी अध्ययनरत छन् । पूर्व प्राथमिक शिक्षाको अवधारणा अनुसार वि.सं २०२८ सालमा पूर्व प्रावि, २०४५ सालमा प्रावि र २०६८ सालमा निमावि रहेको बालमन्दिरले २०७१ मा मावि र २०७६ साल बाट कक्षा ११ सञ्चालन गरेको हो ।

    शिक्षक, विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघको संयुक्त प्रयास र एकताले विद्यालय शैक्षिक गुणस्तर बृद्धिका साथै अग्रगतिमा अगाडि बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठ बताउछन् । वि.सं २०७१ सालमा विष्णु भण्डारी प्रधानाध्यापक हुदाँ कक्षा १० सम्म सञ्चालनको अनुमति पाएको बालमन्दिरमा लक्ष्मी मल्ल, कृष्णहरी गैह्रे र हाल राजेन्द्र प्रसाद खनाल प्रधानाध्यापक हुदाँसम्म विद्यालयले निरन्तर फड्को मारेको अध्यक्ष श्रेष्ठले बताए ।

    त्यस्तै तत्कालिन विव्यस अध्यक्षहरुबाट समेत विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह भएको उनले बताए । हालका प्रअ खनाल कुशल र अनुभवि भएका कारण विद्यालयमा सकारात्मक प्रभाव परेको अध्यक्ष श्रेष्ठको दावी छ । समुदायको विश्वास जित्दै विव्यसको हातेमाले, शिक्षकहरुको मिहिनेत र आफ्नोपनको भावना सहित विद्यालय आगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । उनले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिदै शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध नै वास्तविक सिकाइ हो भन्ने विश्वासका साथ बालमन्दिर परिवार लागि परेको बताए ।

    विद्यालयको शैक्षिक उन्नयनका लागि व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेबाट र व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठबाट पनि निरन्तर सहयोग प्राप्त भइरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

    विद्यार्थीको रोजाइको विद्यालय बन्दै गइरहेको बालमन्दिरमा भौतिक संरचनाको भने अभाव रहेको अध्यक्ष श्रेष्ठले बताए । विद्यालयमा भौतिक सुविधा अभावले केही कठिनाइ झेल्नु परेको छ , हामी विद्यालयमा भौतिक सुविधा सम्पन्न भवन निर्माणको क्रममा छौँ, अध्यक्ष श्रेष्ठले भने ।’ मिहिनेती शिक्षक कर्मचारीमार्फत विद्यार्थीको सुनौलो भविष्य निर्माणमा ईँटा थप्ने काम भएको शिक्षक अभिभावक संघका अध्यक्ष हरिप्रसार शर्माले बताए । विद्यालयले कम्प्युटर ल्याव सहित प्रविधिक शिक्षामा पनि जोड दिएको विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी मल्लले बताइन् ।

    कक्षा ११÷१२ मा विद्यार्थीले रोजेका विषयहरु व्यवस्थापन र शिक्षा संकायमा विद्यालयले अध्ययन अध्यापन गरिरहेको कक्षा ११÷१२ का संयोजक पदम खनालले बताए । विद्यालयमा अतिरिक्त क्रियाकलाप, खेलकुद सप्ताह, सांस्कृतिक एवं मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक नियमित कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको अतिरिक्त क्रियाकलाप संयोजक उपेन्द्र न्यौपानेले बताएका छन् । न्यौपानेका अनुसार विद्यार्थीको सर्वाङ्गीण विकास गर्न मद्धत गर्ने उद्धेश्यले विद्यार्थीको चाहना अनुरुप अतिरिक्त क्रियाकलापलाई दैनिक पठनपाठनसगँ जोड्ने गरिएको छ ।