पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७९, बुधबार

    एजेन्सी ।  फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदानमा मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

    पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले २ गोल र २ असिस्ट प्रदान गरे । एमबाप्पेले २ गोल गर्दा कार्लोस सोलेर र नेयमारको नाममा १-१ गोल रह्यो । एक गोल भने आत्मघाती रहेको थियो ।

    खेलको १९ औं मिनेटमा मेस्सीले पिएसजीलाई अग्रता दिलाए । उनले एमबाप्पेको पासलाई ६ यार्ड बक्सनजिक नियन्त्रणमा लिँदै आउटसाइड फुटले गरेको प्रहार गोलमा परिणत भएको थियो । ३२ औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रभित्र मक्काबी हाइफाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई सुन्दर फिनिस गरे ।

    ३५ औं मिनेटमा नेयमारले गोल गरे । उनले लिओनेल मेस्सीको पासलाई गोलरक्षक अघि बढ्दै गरेको अवस्थामा पेनाल्टी क्षेत्र नजिकबाट गोलमा परिणत गरे । ३८ औं मिनेटमा अब्दुलाए सेकले पाहुना टोलीका लागि गोल फर्काए ।

    मेस्सीले पहिलो हाफको अन्तिम मिनेटमा पुन: गोल गरे । एमबाप्पेसँग लगातार वन टु पास खेल्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको अन्तिम प्रहार विपक्षी गोलरक्षकले रोक्ने कुनै अवसर पाएनन् ।

    दोस्रो हाफको ५१ औं मिनेटमा सेकले हाइफाका लागि दोस्रो गोल गरे । पिएसजीको डिफेन्सले क्लियर गर्न नसकेको बललाई सेकले फितलो हेडरमार्फत गोल गरेका थिए । ६४ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल थपे । अक्रफ हाकिमीको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण लिएका एमबाप्पेले दोस्रो टचमा सुन्दर फिनिस गरे ।

    ६७ औं मिनेटमा पिएसजीले छैटौं गोल गर्यो । नेयमारको कटब्याकलाई सन गोल्डबर्गले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो । ८४ औं मिनेटमा कार्लोस सोलेरले मेस्सीको पासमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गर्दै ७-२ को अग्रता दिलाए ।

    यस नतिजासँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्टस र हाइफाको ३-३ अंक रहेको छ ।