काठमाडाै । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ को निर्वाचनपछिको सरकारको नेतृत्व पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्ने दाबी गरेका छन्।
पार्टी कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार सम्मेलनमा महतले यस्तो दाबी गरका हुन्।
महतले निर्वाचनमा गठबन्धनभित्र बढी सिटमा लडेको पार्टी कांग्रेस भएकोले स्वभाविकरुपमा नेतृत्व पनि कांग्रेस र त्यसको पार्टी सभापति देउवाले नै गर्नेमा दुईमत नरहेको उनले बताए।
‘प्रतिनिधि सभाका १६५ सिट मध्ये ९१ सिटमा हामीले लडेका छौं। ७४ सिटमा गठबन्धनका साथीहरू लड्नु भएको छ। त्यसबाटै सु–स्पष्ट हुन्छ, स्वभाविक नेतृत्व कांग्रेसको हो। त्यसकारण, नेतृत्वदायी भूमिका कांग्रेसको छ भन्ने कुरामा दुईमत छैन,’ महतले भने, ‘भोलिका दिनमा पनि स्ववाभिक नेतृत्व कांग्रेसकै हो। र कांग्रेसभित्र स्ववाभिक नेतृत्व शेरबहादुर देउवा नै हो।’
अर्कोतिर, सत्ता गठबन्धनकै घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चुनावपछि आफू नै प्रधानमन्त्री हुने दाबी गरिरहेका छन्।