जहाँ छन् मात्रै ३४ मतदाता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    जहाँ छन् मात्रै ३४ मतदाता

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७९, शनिबार


    पोखरा । एउटा यस्तो मतदान केन्द्र छ जहाँ कुल मतदाता ३४ जना मात्रै छन् । यो नेपालकै सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र पनि हो । मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को समरगाउँस्थित समर आधारभूत विद्यालयको मतदान केन्द्रमा गएको स्थानीय तहको निर्वाचनमा पनि कुल मतदाताको संख्या ३४ नै थियो । स्थानीय निर्वाचनमा १७ मत खस्यो । यो केन्द्रमा मतदान गर्ने मतदाता सबै एउटै गाउँका हुन् ।

    आइतबार हुने आम निर्वाचनमा स्थानीय तहमा भन्दा अझ कम मत खस्ने आँकलन गरिएको मतदान अधिकृत सकुन्तला अधिकारी बताउँछिन् । ‘१३ देखि १५ मत खस्ने आँकलन छ’, उनले भनिन्, ‘स्थानीय व्यपार गर्नलाई तल झरिसकेका रहेछन् ।’ यहाँका स्थानीय चिसो बढेसँगै मौसमी व्यापार गर्नलाई बेसी झर्ने प्रचलन छ । धेरै त व्यापार गर्न भारतसम्म पुग्ने गर्छन् । भारत पुगेका नफर्कने भएकाले नेपालमा भएकाले मात्रै मतदानमा सहभागि हुने अधिकारीको भनाई छ ।

    जोमसोमबाट २१ किलोमिटर पर रहेको यो मतदान केन्द्रलाई तयार पार्ने काम भइरहेको छ । मतदान केन्द्रमा विजुली, इन्टरनेटको समस्या रहेको अधिकारीले सुनाइन् । ‘मर्ज भएको विद्यालय भएकाले भौतिक पुर्वाधारको पनि समस्या छ’, उनले भनिन् । यहाँ ७ जना महिला कर्मचारी मतदान सम्पन्न गराउन खटिएका छन् । ७ जना सुरक्षाकर्मी छन्, तीमध्ये दुई जना मात्रै पूरुष सुरक्षाकर्मी हुन् ।

    वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३५ जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख मदन अर्यालले जानकारी दिए । हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा शुक्रबार कर्मचारी र सुरक्षाकर्मी हिउँ पन्छ्याउदै पुगेको उनले बताए । लोमन्थाङ गाउँपालिकाको सम्जोङ मतदान केन्द्रमा ६१ जना मतदाता छन् ।

    सबैभन्दा धेरै मतदाता रहेको थासाङ गाउँपालिकाको जनआदर्श मावि कोवाङ मतदान केन्द्र हो । त्यहाँ ६ सय ४९ मतदाता रहेका छन् ।
    जिल्लामा १० हजार ९५७ मतदाता छन् । ५ हजार ५८१ महिला महिला, ५ हजार ३७५ पूरुष र १ जना अन्य मतदाता हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ९ जनाले प्रतिस्पर्धा गर्ने अर्यालले बताए ।

    प्रतिनिधि सभातर्फ ४ जना उम्मेदवार छन् । प्रदेश ‘क’ मा २ र प्रदेश ‘ख’ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने अर्यालले जानकारी दिए । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् ।

    यहॉका ३९ मतदान केन्द्र मध्य १८ संवेदनशील मतदान केन्द्रमा बर्गिकरण गरिएको छ । १ अस्थायी मतदानकेन्द्र तोकिएको छ ।

    गण्डकीमा १८ लाख १७ हजार मतदाता
    गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ मतदाताले मतदान गर्नेछन् । पुरुषको तुलनामा महिला मतदाता ५२ हजार ८७२ बढी छन् । ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

    १ हजार २ सय ८३ मतदानस्थलका २ हजार ३३९ मतदान केन्द्र व्यवस्था गरिएको छ । गोरखाका २२, मनाङका ५ र म्याग्दीका ३ स्थानबाट मतपेटिका हेलिकप्टरबाट टुवानी गर्नुपर्ने अवस्था छ ।

    प्रतिनिधिसभातर्फ १८ सिट रहेको गण्डकी प्रदेशमा १ सय ९६ जना उम्मेदवार छन् । जसमा महिला निकै न्युन छन् । २२ जना महलिा र ११४ पुरुष उम्मेदवार रहेका छन् । ठुला दलले त नगन्य महिलालाई उम्मेदवार बनाएका छन् । प्रदेश सभातर्फ २ सय ३५ जना उम्मेदवार रहेकोमा महिला ३५ जना छन् ।