फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    फिक्सिङको आशंका गर्दै कमेन्टेटरले छाडे नेपाल टी-२० लिग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमा ‘स्पट फिक्सिङ’ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमल्सेनाले लिग छाडेका छन्।

    लिगका सुरुवाती दश दिन कमेन्ट्री गरेका उनले लिग छाडेको बताएका हुन्। जारी टी-२० लिगमा ६ टिमको सहभागिता छ। लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स र फार वेस्ट युनाइटेडले भाग लिएको लिगमा अहिले दोस्रो चरणका खेल भइरहेका छन्। 

    सुरूदेखि नै विवादमा परेको लिगलाई नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई आयोजनाको जिम्मा दिएको थियो। 

    दोस्रो चरणको खेल चलिरहँदा उनले लिग फिक्सरको हातमा गएको दाबी गरेका छन्। 

    ‘कतिपय घटना गर्दा यो लिग विवादित मात्र होइन, क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ,’ उनले सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै भनेका छन्, ‘आजकाल म्याच फिक्सिङ हुँदैन स्पट फिक्सिङ हुन्छ। नतिजामा असर गर्दैन। तर खेलको दौरानमा केही त्यस्तो काम हुनेछ, जुन तपाईंलाई पहिले नै गर्न भनिएको हुन्छ।’ 

    फिक्सिङका लागि कतिपय खेलाडी प्रयोग गरिएको समेत उनको दाबी छ। 

    केही टिममा खासै नाम नचलेका विदेशी खेलाडीलाई कप्तानी गराएको देखेँ। त्यो नै सुरूमा अचम्म लाग्दो कुरा थियो,’ उनको भनाइ छ, ‘सिकन्दर राजाजस्ता खेलाडीलाई खेल्दाखेल्दै पनि ड्रप गर्नु तथा बलिङ धार नभएका खेलाडीलाई बलिङ गर्न लगाउने, सोमपाललाई बलिङ नदिएर खासै प्रभाव नभएको बलरलाई रन खानका लागि बलिङ गर्न दिइएको थियो।’

    उनले नेपाली खेलाडीलाई समेत फिक्सिङमा प्रयोग गरिएको दाबी गरेका छन्। 

    ‘सबैभन्दा पीडादायी क्षण के रह्यो भने एक जना नेपाली राष्ट्रिय टिमबाट खेलिसकेको अलराउन्डर छन्, उनले नो बल फाले। त्यति लामो नो बल व्यवासायिक क्रिकेटरले गर्नै सक्दैन,’ उनले भनेका छन्। 

    फिक्सिङको आशंका गर्दै लिगका लागि खटिएका एन्टी करप्सन युनिटका व्यक्तिलाई उजुरी गरेको पनि उनको भनाइ छ।  

    ‘लिगमा हदैसम्मको बदनियत देखिन्छ। मैले भएभरको सबैसँग कुरा गरे। नेपाल टी-२० फिक्सरको हातमा गएको छ। यसले नेपाली क्रिकेटलाई बिगार्छ। कमन्ट्री गर्दा मैले हरेक बल नियालेर हेरेकाले यस्तो भनिरहेको छु,’ उनको भनाइ छ।