दमाैली । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर जाने नेपाल टेलिकम कार्यालय अगाडी बिहीबार साँझ करिब ७ बजे सवारी चेकिङ हुँदै थियो । व्यास–३ का दुई युवा घुम्दै त्यतातर्फ जाँदै थिए ।
प्रहरी चेकिङ भएको स्थान नजिकै पुग्दा ती दुई युवाले स्कुटर रोके । स्कुटर रोक्ने बित्तिकै एक ट्राफिक प्रहरीले एक्सलेटर दबाइदिए, स्कुटर हुत्तियो र भित्तामा गएर ठोक्कियो । भित्तामा ठोक्किदा स्कूटर चालक १८ वर्षीय नवराज राई घाइते भएका छन् । स्कूटरमा सवार आठ वर्षीय रेवन राई भने शकुसल छन् ।
घाइतेका भाई रेवनले भने, ‘चेकिङ भएकाे ठाउँमा गएर स्कुटर राेक्दा प्रहरीले एक्सलेटर दबाएर धकेलिदिनुभयाे । दाई भित्तामा गएर ठाेक्कियाे ।’ उनी भने भुइँमा लडेका थिए ।
भित्तामा ठोक्किएका नवराजको चार वटा दाँत र गिँजामा चोट लागेको छ । उनको पदम डेण्टलमा राति नै उपचार गरिएको छ ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक राजिव विष्टले त्यस ठाउँमा ट्राफिकले नभई सिभिलले चेकिङ गरेको दावी गरे । उनले भने, “ट्राफिक प्रहरीको उपस्थिति मात्रै हो, सिभिल पुलिसको कमाण्डमा चेकिङ भएको हो ।” उनले यस विषयमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसँग बुझ्न बताए ।
प्रहरीले चेकिङ देखेर आत्तिएर भाग्दा युवा घाइते भएको दावी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले घटना विषयमा छानबिन हुने बताए । उनले युवाहरु भाग्ने क्रममा घटना भएको भन्ने कुरा आएको बताए । “दुवै पक्षको कुरा बुझिरहेका छौ, उहाँहरु उपचार गरेर आएपछि दुवै पक्ष राखेर कुरा गर्छौ,” उनले भने ।