पोखरा । दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टे सिरुबारी । ग्रामीण पर्यटनले अन्तर्राष्ट्रिय जगतमा समेत चर्चित सिरुबारीसँगै पहिचान जोडिन्छ दरौंपनि । गीतसंगीतमा पनि दरौंसिरुबारीको चर्चा हुन्छ ।
दरौं र सिरुबारी चर्चाको चुली उक्लिँदा बीचैको माझकटेरी गाउँ भने ओझेलमा छ । दरौंसिरुबारी पुग्न पाहुनाहरु माझकटेरी हुँदै जानुपर्छ । तर, माझकटेरीमा न पाहुना रोकिन्थे न त गाउँको नाम नै सम्झन्थे ।
अमेरिकामा बस्दै आएका प्रा.डा. नरकाजी गुरुङलाई धेरै नेपालीले सोधखोज गर्थे, ‘सरको घर कहाँ हो ?’ उनको जवाफ हुन्थ्यो, ‘स्याङजा माझकटेरी गाउँ ।’
‘माझकटेरी भनेर त कसैले नचिन्ने । दरौंसिरुबारीको बीचमा पर्छ भनेपछि बल्ल चिन्ने’, माझकटेरीमा उनले सुनाए । उनलाई सताउन थाल्यो गाउँलाई कसरी चिनाउने ? गाउँको आफ्नै पहिचान कसरी बनाउने ?
गुरुङलाई मात्रै हैन माझकटेरीलाई आफ्नै पहिचानले चिनाउने गाउँले सबैमा धोको थियो । गाउँमै बसेका हुन् या पोखरा बसाइँ झरेका, रोजगारीको सिलसिलामा विदेशिएका नै किन नहुन् ? माझकटेरी गाउँलाई आफ्नै पहिचानले चिनाउने सपना देखेका थिए ।
गाउँ चिनाउन नरकाजीले परिकल्पना गरे–गाउँ छिर्ने नाकामा आकर्षक प्रवेशद्वार बनाउने । अमेरिका बस्ने उनले गाउँमा फोन गरेर सुनाए । ‘ग्रामीण पर्यटनले चम्किएको सिरुबारी आउने हजारौं पर्यटकले प्रवेशद्वार हुँदै यात्रा गर्ने भएपछि माझकटेरी गाउँ सम्झन्छ,’ उनको सोच थियो ।
उनको परिकल्पनालाई मामाचेला, फुपुचेला र इस्टमित्र मिलेर सार्थक बनाए । आर्थिकदेखि समन्वयसम्म सहयोग पाएपछि माझकटेरी छिर्ने नाका खर्कटीडाँडामा गाउँ चिनाउन १७ लाख रुपैयाँ लगानी गरेर प्रवेशद्वार बनेको छ ।
प्रवेशद्वारमा शिव र बुद्धको मूर्ति राखिएको छ । ‘आउने जाने सबैले एक पटक ढोगेर जान्छन् भनेर मूर्ति राखेका हौं । धेरैले यो ठाउँलाई सम्झिनेछन्’, नरकाजीले भने ।
प्रवेशद्वारले माझकटेरी धेरथोर त चिनायो । तर, पर्यटकलाई रोक्न सकेन । त्यपछि नयाँ सोंच बनाए, ‘प्रवेशद्वारसँगै रहेको खर्कटीडाँडामा पार्क बनाउने ।’
आँधीखोला गाउँपालिका–१ माझकटेरीको खर्कटी डाँडामा चिटिक्कको पार्क बनाइएको छ । नांगो डाँडालाई सिंगारेर बनाइएको पार्कको नामाकरण गरिएको छ, ‘म्हाँजु भञ्ज्याङ पार्क ।’
ढुंगाले बिच्छ्याएर बनाइएको पैदलमार्ग, विश्रामस्थल, झुला र पार्कमा फर्फराईरहेका ध्वजापतकाले पाहुनाको मन लोभ्याएको छ । अचेल सिरुबारीको यात्रामा निस्किएका हरपर्यटकको पाइला म्हाँजु भञ्ज्याङ पार्कमा पुगेपछि टक्क रोकिन्छ । सेल्फी प्वाइन्टमा सेल्फी खिच्दै रमाउँछन् । सिरसिरे बतासले त हपक्क गर्मी चढेको मौसममा मोहनी लगाउँछ ।
आँधीखोला गाउँपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त २५ लाख रुपैयाँ लगानीमा पार्क बनाइएको हो । पार्कको शुक्रबार परिकल्पनाकार उनै प्रा.डा. नरकाजी गुरुङले उद्घाटन गरे ।
पार्कले पर्यटक तान्न थालेपछि गाउँको पहिचान बनाउने योजनाले पूर्णता पाउन थालेको नरकाजीले महसुस गरेका छन् । अब माझकटेरी आसपासको क्षेत्रलाई पर्यटनको हब बनाउनुपर्ने उनको भनाइ छ ।
‘मेरो फरक भिजन हो । सिरुबारीको होमस्टे अन्तर्राष्ट्रिय भयो । तर त्यो होमस्टेले सबै समुदायको मान्छेलाई फाइदा पु¥यायो कि पु¥याएन भन्ने कुरा पनि हेर्नुपर्छ हामीले’, उनले भने, ‘त्यसले यहाँका बस्तीलाई के फाइदा भयो त्यसरी सोच्नुपर्छ । विकास भनेको एकीकृत हुनप¥यो ।’
थाप्लेदेखि डहरे देउरालीसम्म एकीकृत विकास गर्नुपर्ने उनले बताए । ‘डाँडाकाँडाको दृश्य बेच्ने हो । नेपालमा सुन बेच्न सक्दैनौं । यो सबै दृश्य बेचौं । यहाँको भेरिटेसन बेचौं । जे छ त्यही बेच्ने हो । तर, यसको सकारात्मक असर यहाँका विभिन्न समुदायमा पुग्नुपर्छ’, उनले भने ।
गाउँ चिनाउने सपना पूरा हुन थालेपछि पर्यटकीय गाउँ बनाउने योजना बुनेका छन् । स्थानीयसमेत रहेका गण्डकी विश्वविद्यालयका प्रा.डा गणेशमान गुरुङले स्मार्ट भिलेज बनाउनुपर्ने आवश्यकता औंल्याए । ‘स्मार्ट भिलेज भनेको त्यहाँ सहकारी हुन्छ । त्यहाँ हाइस्कुल छ । खानेपानीको प्रबन्ध घरघरमै छ । बैंक ल्याउन मैले कोशिस गरिरहेको छु । सडकको सुविधा हुन्छ’, उनले भने ।
सिरुबारीलाई जस्तै समग्र पञ्चमूल क्षेत्रलाई नै पर्यटकीय ब्रान्ड बनाउने योजना रहेको वडाध्यक्ष पवनकाजी अधिकारीले बताए । वडाबासीलाई पर्यापर्यटनसँग जोड्ने उद्धेश्यका साथ अगाडि बढेको उनले जानकारी दिए ।
‘पर्यापर्यटनलाई जोड्नुपर्छ भन्ने उद्धेश्यका साथ हामी जनप्रतिनिधि साथीहरु लागिरहेका छौं । र सींगो सिरुबारीसँगै समग्र पञ्चमूललाई नै पर्यटनको माध्यमद्वारा आर्थिक उन्नतिमा हामीले जोड्नुपर्छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘उत्पादनसँग जोडिनुपर्छ भनेर पर्यटनका गतिविधि र निर्माण कार्यको गुरुयोजना नै बनाएका छौं ।’
पोखराबाट ४४ किलोमिटरको पर रहेको पार्कबाट डहरे देउरालीसम्म पैदलमार्ग बनाउने योजना छ । मौसम खुलेकोबेला म्हाँजु भञ्ज्याङ पार्कबाट देखिने हिमालका दृश्य, हरियाली डाँडाकाँडा, थाप्लेमा निर्माण गरिएको विशाल बुद्ध मूर्ति यहाँको थप आकर्षण हो । पार्कमा खानेपानी, शौचालयजस्ता पूर्वाधार थप गर्न भने आवश्यक छ ।