चितवनमा प्रेस चौतारीको भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनमा प्रेस चौतारीको भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८०, शुक्रबार

    चितवन । प्रेस चौतारी नेपाल चितवन शाखाको भवन आज शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका–११ स्थित बसेनीमा भवन निर्माण गर्न लागिएको हो ।

    चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले भवनको शिलान्यास गरेका हुन्। बस्नेतले चौतारीको पहिलो भवन आफ्नो पालामा चितवनमा बन्न लागेको भन्दै आवश्यक सम्पूर्ण सहयोगका लागि केन्द्रीय समिति लाग्ने बताए ।

    नेकपा एमाले चितवनका अध्यक्ष राम न्यौपानेले चौतारीको पहिलो भवन जिल्लामा बन्दै गरेको भन्दै यो सबैको साझा चौतारी बन्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव सिर्जना अर्याल, जिल्ला अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यलगायतले भवन निर्माणमा सहयोग गर्ने बताए ।

    स्थानीय व्यवसायी केशव कार्कीले उपलब्ध गराएको १० धुर जग्गामा तीन तलाको भवन बनाउन लागिएको हो । जिल्लामा पत्रकार महासङ्घ बाहेक सङ्घ सङ्गठनको पहिलो भवन नेपाल प्रेस युनियनले यहीँ निर्माण गरिसकेको छ ।

    राष्ट्रिय समाचार समितिले केन्द्रीयस्तरको तालिम केन्द्र निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको छ । नेपाल पत्रकार महासङ्घको चितवन शाखाले तालिम केन्द्र निर्माणको प्रक्रिया अघि बढाएको छ ।