नेपालको निर्वाचन ठिक छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    नेपालको निर्वाचन ठिक छैन

    डा. रघुनाथ न्याैपाने

    ३० जेष्ठ २०८०, मंगलवार

    राज्यव्यवस्था बदलिनु, जनतामा गरिबी–विपन्नता झन् झन् बढ्दै जानु, धर्म र सांस्कृतिको मर्ममा चोट पुग्नु, देशमा भ्रष्टाचार अराजकता बढ्दै जानु, जनप्रतिनिधीहरू विकास–निर्माणतिर हैन झगडा–विनाशतिर लाग्दै जानु, देश राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा अपमानित हुदै जानु, विगत ३३ वर्ष (२०४७–२०७९) को समयावधिमा ७ वटा सम्म सरकार बन्नु पर्नेमा २८ वटा सरकार बन्नु हुन्छ भने त्यहाँ देशको व्यवस्था ठिक छैन, व्यवस्था सञ्चालन गर्ने प्रतिनिधीहरू ठिक छैनन् भन्ने बुझिन्छ । यसका पछाडि लुकेको रहस्य पहिल्याउने शीलशीलामा निर्वाचनसँग जोडिएको सन्दर्भलाई कोट्याउने कोशिश यहाँ गरिएको हो ।

    संसारका लोकतान्त्रिक जुनसुकै मुलुकहरूमा निर्वाचनको समयमा मतदाताहरुको प्रयोगबाट निर्वाचन सम्पन्न गर्नुपर्ने प्रचलन छ । यस अवस्थामा मतदाताहरूमा बाहिरी प्रभावकारी गतिविधीहरूको प्रभाव कम भन्दा कम हुन जाओस्, मतदाताहरूको उन्नतोन्नत चेतना प्रयोग होओस्, मतादाताहरूको गोपनीयता कायम रहोस् र मतदान गुणस्तरीय हुन जाओस् भन्ने आम मान्यता रहेको हुन्छ । निर्वाचनको मर्ममा यस किसिमको सदाशयता रहँदा रहदै पनि संवैधानिक व्यवस्थाले स्थीर सरकार दिन नसक्नु, निर्वाचन योग्य व्यक्तिको नैतिक बलबुतादेखि बाहिर हुनु र निर्वाचन अविकसित मुलुकको लागि खर्चिलो हुनु जस्ता राजनीतिक प्रतिकूलताले गर्दा योग्य व्यक्ति पाखा पर्न गई निर्वाचनको परिणाम प्रयोगबाट कतै गुणस्तरीय निर्वाचन हुन नसक्दा गुणस्तरीय प्रतिनिधीहरू छनौट हुन सकेनन् । त्यसको परिणामस्वरुप जनप्रतिनिधी र व्यवस्थातर्फ व्यापकरुपमा असन्तुष्टि बढेको त हैन ? भन्ने विषय अध्ययनको मूल कारण थियो । यही विषयलाई महसूश गरी अध्ययनको प्रारम्भिक चरणलाई अघि बढाउन प्रश्नावली तयार पारियो । प्रश्नावलीमा उपरोक्त आशय बुझाउने उत्तरमा ठिक चिन्ह  लगाउन भनियो । अध्ययनका निम्ति छनौट गरिएको स्थान–व्यास नगरपालिका दमौली, तनहुँ थियो । यस नगरपालिका भित्र रहेका जेष्ठ नागरिक केन्द्र पञ्च मन्दिर, पराशर आश्रम र अद्वैत सँस्था गरी यी तीन सँस्थाहरूमा ५० वर्ष नाघेका नागरिकहरूलाई प्रत्यक्ष भेटी मत लिने काम गरियो । एउटै मितिमा मत लिन सम्भव नभएकाले २७ जेष्ठ २०७८ देखि १३ जेष्ठ २०७९ सम्ममा भिन्नभिन्न मितिमा मत लिने काम सम्पन्न गरियो । यस अध्ययनमा ५० जना महिला र ५० जना पुरुष गरी जम्मा १०० जना नागरिकहरू समावेश गरिएका थिए । उक्त अध्ययनबाट प्राप्त तथ्याङ्कलाई यहाँ तालिकामा प्रस्तुत गरिएको छ ।


    अध्ययन परिणाम तालिका

    प्रस्तुत तालिका अनुसार गणना गरिएका नागरिकहरू मध्ये महिला तर्फ मेसो पाई आफुखुसी मतदान गर्ने २९ जना (५८%) मेसो पाइ अरुसँग सोधेर मतदान गर्ने २० जना (४०%) र मेसो नपाई आफुखुसी मतदान गर्ने १ जना (२%) पाइयो भने पुरुष तर्फ मेसो पाई आफुखुसी मतदान गर्ने ४८ जना (९६%) र मेसो पाइ अरुसँग सोधेर मतदान गर्ने २ जना (४%) पाइयो । यहाँ मेसो पाई भन्नाले आफुले मनपराएको पार्टीको चिन्हमा छाप लगाउने भन्ने बुझिन्छ, मेसो नपाई भन्नाले कुन पार्टीको चिन्हमा छाप लगाएँ भन्ने थाहा नभएको भन्ने बुझिन्छ, आफुखुसी भन्नाले पार्टी र उमेदवार बारे स्वकीय धारणा अनुसार मतदान गर्ने भन्ने बुझिन्छ भने अरुसँग सोधेर भन्नाले पार्टी र उमेदवार बारे स्वकीय धारणा केही छैन अरुको धारणा बोकी मतदान गर्ने भन्ने बुझिन्छ ।

    प्रस्तुत तालिकाले देखाएको ४०% महिला अरुसँग सोधेर मतदान गर्ने तहमा रहनुमा घरमुली–पितृसतात्मक परिवारको निर्णायक भएर रहनु, महिलालाई सेवाको काम ज्यादा दिनु जिम्मेवारीको काम खासै नदिनु वा कम दिनु र अधिकांश महिलाहरू निरक्षर रहनु (निरक्षर ५५.५% र साक्षर ४५.५% वि.सं.२०६८) जस्ता कारणहरु रहेका हुन सक्तछन् ।

    यहाँनेर आफुखुसी मतदान गर्नेहरुले पनि के अरुसँग सोधेर धारणा बनाउन सक्तैनन् ? भन्ने प्रश्न उठ्न सक्तछ तर आफु कोरा विचारमा रही अरुको विचार बोकी मतदान गर्नु र आफ्नो पक्का विचार बनाई त्यसमाथि अरुको विचार बुझ्नुमा धेरै फरक पर्ने हुनाले सोधेर मतदान गर्नेमा अरुको धारणा रहने सम्भावना ज्यादा (++) र आफुखुसी मतदान गर्नेमा त्यस्तो सम्भावना कम (+) हुन जाने देखिन्छ ।

    यहाँ प्रस्तुत परिणाम सानो इकाईमा रहेको परिणाम हो । यद्यपि परिणामको साङ्केतिक अर्थलाई परित्याग गर्न भने मिल्दैन । यो परिणामले देशव्यापिरुपमा यस किसिमको अध्ययन अघि सार्नु आवश्यक छ भन्ने सङ्केत भने अवश्य गरेको छ । देशव्यापिरुपमा गरिएको अध्ययनको परिणाम पनि यस अध्ययनसँग मिल्दोजुल्दो हुन गएको खण्डमा निर्वाचनलाई गुणस्तरयुक्त पार्न विद्यमान निर्वाचन प्रणालीमा सुधार ल्याउन आवश्यक हुन जान्छ । मतदाताहरूको बहुमत सङ्ख्या आफुखुसी मतदान गर्नेमा रहेतापनि देशको विद्यमान अस्थीर निरीह राजनीतिक स्थितिलाई हेर्दा मतदाताहरूको मतदान सम्बन्धि स्वतन्त्रता र आफुखुसी मतदान गर्ने राजनीतिक चेतनास्तर बीच अवनत तादात्म्यता रहन गएको त छैन ? भन्ने प्रश्न सामयिक सन्दर्भको विषय बनेको छ ।

    अध्ययनको उपरोक्त गणितीय विश्लेषणबाट पाइएको परिणामलाई वि.सं.२०७४ सालको महानिर्वाचनमा सदर भएका मतदाताहरूको सङ्ख्यासँग मिलाई हेर्दा परिणाम चित्र यस्तो हुन जाने सम्भावना देखिन्छ । जस्तैः सदर मतदाता संङ्ख्या–१,०५,८७,५२१ । यो अङ्कलाई नेपालको कुल जनसङ्ख्याको ५१.५% महिलाको हिस्सा हुन जान्छ भनी बुझी उपरोक्त अङकबाट ५१.५% अङ्कलाई झिकी हेर्दा हुन जाने अङ्क ५४,५२,५७३ महिला हिस्साको कूल अङ्कबाट ४०% मेसो पाई अरुसँग सोधेर मतदान गर्ने, २% मेसो नपाई आफुखुशी मतदान गर्ने गरी यी दुई अङ्क क्रमशः मेसो पाई अरुसँग सोधेर मतदान गर्नेहरू २१,८१,०२९ र मेसो नपाई आफूखुसी मतदान गर्ने १,०९,०५१ हुन जान्छ । यी दुई अङ्कलाई जोड्दा जम्मा हुन आउने अङ्क २२,९०,०५१ र पुरुषतर्फको ४८.५% हिस्साबाट आउने सङ्ख्या ५१,३४,९७२ मध्ये अरुसँग सोधेर मतदान गर्ने २,०५,१५८ (४%) को सङ्ख्यालाई २२,९०,०५१ सँग जोड्दा हुन आउने जम्मा अङ्क २४,९५,२३८ हुन जान्छ भने यत्रो ठुलो अङ्कलाई कसरी बुझ्ने ? धेरै जसो जनताले मेसो पाई आफुखुसी मतदान गर्दा पनि जनप्रतिनिधीहरू लायक बन्न नसक्ने, सरकार अस्थीर रहने र त्यस्तै अरुसँग सोधेर मेसो पाई मतदान गर्दा पनि अघि भने जस्तै जनप्रतिनिधीहरु लायक बन्न नसक्ने र सरकार अस्थीर रहने हुन्छ भने नेपालको विद्यमान निर्वाचन प्रणालीले विकल्पको रुपमा नयाँ किसिमको निर्वाचन प्रणालीको खोजी गरिरहेको त हैन भन्ने तर्क अघि सर्दछ ।

    विकल्पको खोजी गर्ने वा नगर्ने !
    सारांशमा एउटा जिम्मेवार मताधिकारी बन्नाका निम्ति सामान्य साक्षर भएर मात्र पुग्दैन । यसका लागि आवश्यक मात्रामा रहेको सम्झना राख्ने क्षमता, समन्वय गर्ने क्षमता र विश्लेषण गर्ने क्षमताबाट उठेको समसामयिक राजनीतिक चेतना चाहिन्छ । चेतना विकास गर्न व्यक्तिको सक्रिय संलग्नता र चेतना विकासका अवसरहरू बराबरी महत्वका विषय भएर रहेका हुन्छन् । यी दुई कारक तत्वहरू मध्ये कुनै एकको निस्क्रियता रहेको अवस्थामा गरिएको काम अपेक्षित फलदायी बन्न सक्दैन । कुनै पनि अधिकारको सदुपयोग अधिकार र अभिरुचीको तादात्म्यतामा आश्रित भएर रहेको हुन्छ । अभिरुची मनोगत विषय हो । सामान्यतः मनोगति अधोगति तल झर्ने सुख सजिलो खोज्ने तर परिश्रम नगर्ने वा कम गर्ने खालको हुन्छ । मनको गतिलाई उध्र्वगामी–माथि उठ्ने पार्न आवश्यक मात्रामा चेतना विकासका विशेष अवसरहरू जुटाईदिनुपर्दछ र व्यक्ति स्वयं पनि सक्रियरुपमा संलग्न रहेको हुनुपर्दछ । मतदान प्रक्रियामा अधिकारको उपयोग भन्दा मनोगत निर्णय विशेष प्रवल भएर आउछ । मनोगत निर्णय उन्नत÷अवनत चेतनाद्वारा निर्देशित भएर रहन्छ । यसकारण चेतनास्तर उन्नत पार्ने तिर ध्यान पु¥याइन्न र अधिकारको उपयोगलाई मात्र ध्यान दिइन्छ भने उमेर र ठक्करलाई मात्र जोड दिएको बुझिनेछ । यस अवस्थामा समय सापेक्ष गुणस्तरीय मतदान हुन सक्दैन ।