काे हुन् ? भानुभक्तकी जीवनसङ्गिनी मानुङकी चन्द्रकला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    काे हुन् ? भानुभक्तकी जीवनसङ्गिनी मानुङकी चन्द्रकला

    विकास खनाल

    २३ असार २०८०, आईतवार

    भानु जयन्ती मनाउने दिन असार २९ नजिकिँदै गर्दा उनकी जीवनसङ्गिनी चन्द्रकलाकाे बारेमा चर्चा सुरु भएको छ । केही वर्ष अगाडि २ सयौं, २०१ तथा २०२ आै‌ जन्मजयन्ती मनाउँदाका बेला “भानुभक्त चन्द्रकला स्मृति प्रतिष्ठान”काे आयाेजनामा गुणादीमा विचार गाेष्ठि आयाेजना गरि कार्यक्रम हुँदै आएकाे तर काेभिड लगायतका विभिन्न कारणले कार्यक्रम नै स्थगित भइरहेको अवस्थामा अहिले फेरि मानुङ गुणादीका मानिसहरू जुरमुराउनुले चन्द्रकलाकाे बारेमा चर्चा र बहस चुलिएको छ ।

    ढिलै भए पनि भानुभक्तको ससुराली गाउँ वा चन्द्रकलादेवीकाे माइती गाउँलेहरूले आफ्नाे चेलीकाे सम्झना गर्नु एतिहासिक गर्वकाे कुरा भइरहँदा कार्यक्रम एकाएक राेकिएपछि साहित्यिक अभियान्ता देव वस्न्यातले सराेकारवालाहरूलाई घचघच्याउने काम गरेका छन् । प्रतिष्ठानले गर्ने यस किसिमका कार्यक्रमहरू लाई निरन्तरता दिन सक्न पाएकाे भए चन्द्रकलाकाे महत्त्व, याेगदान र इतिहासका बारेमा थप कुराहरू आउने थिए , थप जानकार हुने थियौँ भन्ने चाहना हुँदाहुँदै पनि कार्यक्रम आयाेजना नै हुन छाडेको अवस्थामा बस्न्यातले यसको अगुवाइ गरि तयारी समिति समेत गठन गरिएको र असार २९ गते मानुङमा साहित्यिक कार्यक्रम गर्ने तय भएको छ ।

    एकाएक चन्द्रकलाकाे बारेमा उठ्दै गरेका तातो बहसलाई सेलाउने काम गराएको बेलामा यस कार्यक्रमले फेरि पक्कै सक्रियता ल्याउने छ । भानुभक्त आदिकवि हुँदै गर्दा घर परिवार र त्यसमा पनि जीवनसङ्गिनीले अनेकौं दुख समस्याहरूलाई पन्छाउँदै उचित सहयोग र साथ दिएर नै सफलता मिलेको हुनुपर्दछ । घरमा चन्द्रकलाले सहि तरिकाले घर व्यवहार धानिदिएकाले नै भानुभक्त ढुक्कसँग अगाडि बढ्न सके , उचाइमा पुग्न सके , इतिहासमा नाम लेखाउन सके र सफल भए । भानुभक्त ११ वर्षाकाे हुँदा उनको पहिलो विवाह रामरूङकाे रामप्रसाद खनालकाे छाेरी चन्द्रकान्त देवीसँग भएको र विवाह गरेको १८ महिनामा असामयिक निधन भएपछि मानहुँ गुणादीका विद्याधर खनालकाे छाेरी दश वर्षाीया चन्द्रकला देवीसँग दाेस्राे विवाह भएको थियो । उनको इतिहास केलाउँदा चन्द्रकला देवी सँगकाे दाम्पत्य जिवनले भानुभक्तमा धेरै प्रेरणा जागेको देखिन्छ । भानुभक्तका प्रतिभाहरूलाई मलजल र सिँचन गर्ने यिनै चन्द्रकलाकाे केही वर्ष पहिले गुणादीमै भएको एक कार्यक्रममा पहिलोपटक तस्वीर अनावरण समेत गरिएको थियो । कुनैपनि पुरूषलाई सफल बनाउन घरको जीवनसाथीकाे ठूलाे र महत्त्वपूर्ण भूमिका रहन्छ । भानुभक्तको जीवनमा पनि त्यस्तै पाउन सकिन्छ । तत्कालीन परिवेशमा घर गृहस्थ राम्रोसँग चलाइ भानुभक्तलाई सबै क्षेत्रमा फुर्सदिलाे बनाइ कलम चलाउने अभियानमा साथ दिँदै नेपालका आदिकवि बनाउन सफल भएकी चन्द्रकलाकाे याेगदानकाे बारेमा पनि नेपाली साहित्यमा बहस हुनु जरुरी छ । श्रीमान श्रीमती भनेको एउटा रथका दुई पाङ्ग्रा हुन , त्यस्तो बेलामा यदि एउटा पाङ्ग्रा बिग्रे वा भत्केमा जसरी रथले काम गर्न सक्दैन त्यसैगरी चन्द्रकला बिनाको एक्लो भानुभक्तले पनि केही गर्न पक्कै सक्दैनथे ।

    चुँदीरम्घामा जसरी भानु जयन्ती हरेक वर्ष भव्य रूपमा मनाउँदै आइरहेकाे छ , त्यहाँको स्थानीय तहले समेत आफ्नाे स्रस्टाहरूलाइ सम्झने काम गरिरहेकाे छ त्यसैगरी म्याग्दे गाउँपालिका र वडा कार्यलयले पनि चन्द्रकलाकाे महत्त्वलाई बाहिर उजागर गर्न र आफ्नाे ठाउँको महत्त्व चिनाउन विशेष कार्यक्रम ल्याई अगाडि बढ्नुपर्दछ । यसका साथै चन्द्रकला का माइती गाउँलेले आफ्नी चेलीलाई चिनाउन विभिन्न कार्यक्रम गरि राष्ट्रिय स्तरमा ख्याति कमाएका साहित्यकारहरूलाई बाेलाइ चन्द्रकलाकाे महत्त्वलाई बाहिर ल्याउन विशेष पहलकदमी गर्नुपर्दछ । आगामी असार २९ गते चन्द्रकलाकाे माइती गाउँ मानुङमा हुने साहित्यिक कार्यक्रमले पक्कै पनि यसबारेमा भित्र लुकेका कुराहरुलाई बाहिर ल्याउनेछ ।