काठमाडाै । एसिया कप प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति रामचन्द्र पाैडेलले शुभकामना दिएका छन् । मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा पाैडेलले भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लागेका टाेलीलाई शुभकामना दिएका हुन् ।
पाैडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित यसमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिँदै भने, ‘यसप्रकारका अन्तराष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिनेछ ।’
नेपालमा बढ्दो क्रिकेटप्रतिको आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको बताउँदै राष्ट्रपति पाैडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्ने बताए ।
विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय भएकाे बताउँदै उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईहरूको अहोरात्रको मेहनेत र परिश्रम सफल होस् भन्ने राष्ट्रपति पाैडेलले उल्लेख गरे ।