दमाैली । आफ्नै माटोमा जीवन देख्ने ध्येयका साथ तनहुँको शुक्लागण्डकी नगरपालिकामा कृष्मी बहुउद्धेश्यीय सहकारी संस्था गठन गरिएको छ । शुक्लागण्डकी नगरपालिका–४ मा शुक्रबार आयोजित प्रारम्भिक भेलाले सहकारी संस्था गठन गरिएको हो ।
जसको अध्यक्षमा मनराज गुरुङ चयन भएका छन् । भेलाले उपाध्यक्षमा बिर्सना श्रेष्ठ, सचिवमा ऋषेश्वर भुवाइ, कोषाध्यक्षमा सरोज पौडेल र सदस्यहरुमा क्या. फत्तबहादुर गुरुङ, प्रज्वल गुरुङ, केशव पौडेल, सुष्मा पौडेल र सिर्जना खनाललाई चयन गरेको छ ।
प्राकृतिक स्रोत साधनको भरपुर उपयोग गर्दै परापूर्वकालदेखि उत्पादित वस्तु र विधिमा नयाँ प्रविधिको समायोजन गरी व्यावसायिक उत्पादन, प्रशोधन र बजारीकरणमार्फत् किसानलाई आत्मनिर्भर बनाउने संस्थाको मुख्य कार्यभार हुने अध्यक्ष गुरुङले जानकारी दिए ।
रासायनिक मल र विषादीको अत्याधिक प्रयोगबाट जनस्वास्थ्यमा पुग्न गएको दीर्घकालिन स्वास्थ्य समस्यालाई मध्यनजर राखी प्राकृतिक खेती प्रणालीमार्फत् विषादीरहित खाना खाने अभियान सहकारीले गर्ने उनको भनाइ छ ।
साथै रैथाने कृषि वस्तुको प्राकृतिक विधिबाट उत्पादन, प्रशोधन र आफ्नै ब्राण्डिङ मार्फत् बजारीकरणसम्मको कार्य संस्थाले गर्ने बताइएको छ ।
शुक्लागण्डकी नगरपालिका–४, ९ र १२ संस्थाको कार्यक्षेत्र रहेतापनि नगरपालिकाको अनुमति र समन्वयमा १२ वटै वडाहरुमा संस्थाले कार्यक्रम तथा गतिविधि गर्ने जनाइएको छ । संस्थापक शेयर सदस्य ३० जनाबाट सुरु गरिएपनि निकट भविष्यमा पाँच सय जना शेयर सदस्य पु¥याउने लक्ष्य राखिएको छ ।
हाललाई रु दुई करोड पु¥याउने र निकट भविष्यमा रु पाँच करोड चुक्ता पुँजी पु¥याउने संस्थाको लक्ष्य छ । मासिक रु एक हजार बचत गर्ने करिब एक हजार सदस्य बनाउने र अन्य बचत रकम सङ्कलन तथा ऋण प्रवाह मार्फत् करिब पाँच हजार सदस्य सङ्गठित गर्ने योजना छ ।
संस्थाले उत्पादित वस्तुको उचित मूल्य श्रृङ्खला मिलान गरी सङ्कलन र प्रशोधनमार्फत् ब्राण्डिङ गरी बजारीकरणको सम्पूर्ण जिम्मेवारी लिनेछ । कफी खेती, जरेबाली, गेडागुडी, मौरीपालन, व्यावसायिक बाख्रा तथा कुखुरापालनको प्रबद्र्धन, दाना तथा चल्ला सप्लायर्स सञ्चालन, बायोडायनामिक विधिमार्फत् तरकारी उत्पादन सहकारीले गर्नेछ ।