गगन थापा भन्छन् : निर्वाचनका बेला गठबन्धन गर्न नपाइने कानून बनाऔं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गगन थापा भन्छन् : निर्वाचनका बेला गठबन्धन गर्न नपाइने कानून बनाऔं

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८०, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय समितिले साेमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी विधान बमोजिम चल्नुपर्नेमा जोड दिए।

    पार्टी विधान अनुसार नचलेको बताउँदै महामन्त्री थापाले भने, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधान बमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौ ।”

    महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने बताउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताए । उनले भने “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भनेपनि भित्रभित्र गुटमै रमाइराखेका छौ ।”

    महामन्त्री थापाले निर्वाचनका बेला गठबन्धन गर्न नपाइने विषयमा छलफल आवश्यक रहेको बताए । नेपाली काङ्ग्रेसका क्रियाशील सदस्यहरुले अर्को चुनाव चिन्हमा भोट हाल्न नपर्ने अवस्था बनाउनुपर्नेमा उनकाे जोड थियो । उनले भने, “नेपाली काङ्ग्रेस सबैको आस्था हो । चुनावको तत्कालका फाइदाका लागि अर्को चुनाव चिन्हमा मत हाल्न लगाउँदा उसको आस्थाप्रति प्रश्न उठिरहेको छ ।”

    संसदमा निर्वाचन कानूनका विषयमा छलफल अगाडी बढाउन लागिएको बताउँदै महामन्त्री थापाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गरे । उनले भने, “यसो भएमात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन । त्यस्तो हुँदा काङ्ग्रेस एमालेसँग डराउनुपर्दैन, एमाले काङ्ग्रेस वा अरु पार्टीसँग डराउनु पर्दैन ।” यो विषय सम्भव रहेको बताउँदै त्यसो हुनसकेमात्रै आस्थाको आधारमा काङ्ग्रेस रोज्ने मानिस विचलित हुन नपर्ने अवस्था आउने थापाको भनाइ थियो ।

    महामन्त्री थापाले पार्टीले जय नेपाल सेवा अभियान सुरु गर्न लागेको बताउँदै उक्त अभियानका क्रममा एक वर्षभित्र पार्टी जनतामाझ जोडिने उल्लेख गरे। पार्टीलाई नागरिकको बीचमा लगेर ठूलो शक्ति बनाइने महामन्त्री थापाले बताए ।

    महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धति समेत परिवर्तन गर्न आवश्यक रहेको बताए।उनले भने “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठिक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडी बढाएका छौ ।”