शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा युवासँग उपप्रमुख कार्यक्रम : युवालाई उत्पादनसँग जोडिने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन हुने भएको छ । बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने उद्देश्यसहित नगरपालिकामा युवासँग उपप्रमुख कार्यक्रम सुरु गर्न लागिएको हो ।   
      
    यसका लागि कृष्मि बहुउद्देश्यीय सहकारी संस्था र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सहकारीका तर्फबाट अध्यक्ष मनराज गुरुङ र नगरपालिकाका तर्फबाट शिक्षा तथा युवा शाखाका प्रमुख नवराज चापागाईंले हस्ताक्षर गरेका छन् ।   
      
    बाँझो जमिनमा उत्पादन केन्द्रित कार्यक्रम लागू गर्ने र उत्पादित वस्तुको जिम्मा नगरपालिकाको रोहवरमा सहकारीले लिने गरी युवासँग उपप्रमुख कार्यक्रम सञ्चालन गर्न लागिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।   
      
    आर्थिक वर्ष २०८०÷८१ मा नगरपालिकाका तर्फबाट उक्त कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको छ । नगरपालिकाका तर्फबाट रु १० लाख र बाँकी सहकारीको साझेदारी रहने अध्यक्ष गुरुङले बताए ।   
      
    यस कार्यक्रमअन्तर्गत माटोको जैविकता जोगाउने, रैथाने बीउहरुको संरक्षणका लागि बीउ बैङ्क स्थापना गर्ने लक्ष्य छ । त्यस्तै, उत्पादनमूलक कार्यक्रमअन्तर्गत कफी, जरे बाली (अदुवा, बेसार, पिडालु, तरुल), रैथाने गेडागुडी (मास, मस्याङ, बोडी, सिमी), मरिच र टिम्मुर खेती गरिनेछ । उनले भने, “किसानहरुको समूह गठन गरी उत्पादन केन्द्रित अभियान सञ्चालन गरिनेछ । किसानहरुले उत्पादन गरेको कृषिउपज सामग्री सहकारीले खरिद गर्ने र बजारीकरणमा सहयोग पु¥याउनेछ ।”   
      
    युवालाई उत्पादनमा जोड्न युवासँग उपप्रमुख कार्यक्रम ल्याइएको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले बताए । उनले भने, “युवाशक्ति नहुँदा खेतबारी बाँझो हुने क्रम बढेको छ । युवाशक्तिलाई उत्पादनसँग जोड्न सकिए आत्मनिर्भर बनाउन सकिन्छ ।”   
      
    प्राकृतिक स्रोतसाधनको उपयोग गरी परापूर्वकालदेखि उत्पादित वस्तु र विधिमा नयाँ प्रविधिको समायोजन गरी व्यावसायिक उत्पादन गर्ने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिकामा गत कात्तिकमा कृष्मी बहुउद्देश्यीय सहकारी संस्था गठन भएको थियो ।   

    शुक्लागण्डकी नगरपालिका–४, ९ र १२ संस्थाको कार्यक्षेत्र रहे तापनि नगरपालिकाको अनुमति र समन्वयमा १२ वटै वडामा संस्थाले कार्यक्रम तथा गतिविधि गर्ने जनाइएको छ । संस्थापक शेयर सदस्य ३० जनाबाट सुरु गरिए पनि निकट भविष्यमा पाँच सयजना शेयर सदस्य पु¥याउने लक्ष्य राखिएको अध्यक्ष गुरुङको भनाइ छ ।