उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उद्धार गरेर ल्याइएको हिउँ चितुवा सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०८०, शुक्रबार

    काठमाडाै । पूर्वी नेपालको उर्लाबारी नगरपालिका–१ मा चारघरेमा फेला परेको दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर आज सार्वजनिक गरिएको छ । समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेलापरेको र यो अस्वाभाविक रहेको संरक्षण विज्ञहरूले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षणकोषलगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको हो ।

    विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताए। यही माघ ९ गते त्यहाँ देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।

    उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्नेबारेमा अनुसन्धान थालिएको पत्रकार सम्मेलनमा बताए।

    नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो । विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ ।

    हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ । यसको सङ्ख्याको वितरणका आधारमा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्मको हिउँ चितुवाको बासस्थानलाई पश्चिमी भूपरिधि, मध्य भूपरिधि र पूर्वी भूपरिधिमा विभाजन गरिएको छ । विश्वमा यसको अनुमानित सङ्ख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय सङ्ख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्दछ ।