काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पछिल्ला दिनहरूमा अष्ट्रेलियामा रहेका नेपालीहरूको आत्महत्या तथा मृत्यु हुने दर बढेकोप्रति चिन्ता जनाएका छन् ।
संघले मृतक प्रति श्रद्धाञ्जलीका साथै मृतकका परिवार र प्रियजनहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । केही दिनमै सिड्नीमा ६ जना नेपालीको मृत्यु भएको र त्यसमा अधिकांशले आत्महत्या रोजेको पाइएको भन्दै अध्यक्ष पोखरेलले चिन्ता व्यक्त गरेका हुन् ।
त्यसबाहेक पानीमा डुबेर, विद्युत शर्ट भएर तथा अन्य कारणले नेपालीहरूको मृत्यु भइरहेको पोखरेलको भनाइ छ ।
पोखरेलले यस्तो दुखद् घटना न्यूनीकरणका लागि अभिभावक तथा सरकारी निकायसमेतको मुख्य भूमिका हुने भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेको छ ।
पोखरेलले नेपालमा रहेका अभिभावकहरूले विदेशमा छोराछोरी पठाउने बित्तिकै आफ्नो भूमिका सकियो भन्ने सोच्न नहुने बताएका छन् ।
सिड्नीमा भएको आत्महत्या तथा मृत्युमा अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको भन्दै यस्तो उमेरमा परिवारले समेत उनीहरूलाई विशेष जिम्मेवारी निभाउनुपर्नेमा पोखरेलले जोड दिएका छन् ।
उनले भनेका छन्,’उनीहरूलाई मानसिक स्वास्थ्य लगायतका विषयमा सचेतना र सहयोग आवश्यक हुन्छ ।’
यस्तै अध्ययनका शिलशिलामा विदेशमा रहेका आफ्ना सन्तानसँग निरन्तर सम्पर्कमा रहने, कुराकानी गर्ने तथा सरसल्लाह र सहयोग गर्नेमा परिवार विशेष चनाखो हुनुपर्ने उनले भनेका छन् ।
साथै विद्यार्थीहरूलाई एनओसी जारी गर्नु अघि स्वदेश फिर्ता खर्च कभर गर्ने अनिवार्य बीमाको व्यवस्था गर्नुपर्नेमा समेत उनले नेपाली दूतावासको ध्यानाकर्षण गराएका छन् । स्वदेश फिर्ता गर्न कम्तिमा पनि १५-२० हजार डलर खर्च लाग्ने उनले बताएका छन् ।
यस्ता घटनाहरूमा सहजीकरण गर्नका लागि दूतावास र वाणिज्य दूतावास दुबैबाट सहयोग चाहिने पोखरेलको भनाइ छ । जसका लागि अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्ल्यु)स्थित वाणिज्य दूतावासमा वाणिज्य दूतमा तत्काल नियुक्ति गर्न उनले माग गरेका छन् ।
पोखरेलले आफ्ना प्रतिनिधिहरू स्वयम्सेवक मात्रै रहेको भन्दै स्रोतसाधनहरू सीमित रहेकाले यस्ता परिस्थितिहरूको व्यवस्थापन गर्न कठीन भइरहेको समेत बताएका छन् । पोखरेलले भनेका छन्,’यस कठिन समयमा तपाईंको धैर्यता र समझदारी बढी आवश्यक हुन्छ ।’
संघले पछिल्लो समय बढ्दो मृत्यु र आत्महत्यालाई न्युनीकरण गर्नका लागि दूतावास, वाणिज्य दूतावास, एनआरएनए र समुदायका सदस्यहरू बीच व्यापक छलफल गरी समाधान खोज्नका लागि पहल गर्ने अध्यक्ष पोखरेलले प्रतिवद्धता समेत जनाएका छन् ।