गोरखा–जितगढी एकीकरण पदयात्रालाई तनहुँसुरबाट विदाई, कालीभञ्जनलाई झण्डा हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोरखा–जितगढी एकीकरण पदयात्रालाई तनहुँसुरबाट विदाई, कालीभञ्जनलाई झण्डा हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०८०, शुक्रबार

    दमौली । गोरखाबाट सुरु भएर तनहुँको ऐतिहासिक स्थल तनहुँसुर आइपुगेको नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रालाई बिहीबार विदाई गरिएको छ । चैत २७ गतेदेखि सुरु भएको गोरखा–जितगढी एकीकरण पदयात्रा बुधबार साँझ व्यास नगरपालिका–११ स्थित तनहुँसुर आएकामा बिहीबार एक कार्यक्रमको आयोजना गरी यहाँबाट विदाई गरिएको हो ।

    तनहुँकै भानु नगरपालिकास्थित सतिघाट, बाङ्गेरह, शेपाबगैंचा, टुहुरेपसल हुँदै तनहुँसुर आइपुगेको पदयात्रा टोलीलाई व्यास नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले स्वागत गर्दै विदाई गरेका हुन् ।

    व्यास नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीको सहभागितामा तनहुँसुरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा भानुबाट रुरु भैरवदल गणको नेतृत्वमा आएको टोलीले कालीभञ्जन गण (इ) लाई झण्डा हस्तान्तरण गरेको छ ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेनाको यो कार्यक्रमले सेना र जनताबीच सुमधुर सम्बन्ध विस्तारका लागि सहयोग पुग्ने बताए ।

    तनहुँसुरदेखि घिरिङ गाउँपालिकाको धेनुङसम्म कालीभञ्जन गण (इ) ले नेतृत्व गर्नेछ । धेनुङ देउरालीमा कालीभञ्जन गण (इ)ले श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गर्ने कालीभञ्जनका गणपति प्रमुख सेनानी बसन्त कार्कीले जानकारी दिए ।

    धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । केलादीघाटदेखि नुवाकोटगढीसम्म पुगेको टोलीलाई गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीदेखि जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

    ऐतिहासिक महत्व बोकेका स्थानको प्रबद्र्धन गर्ने उद्धेश्यका साथ दोस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरिएको हो । पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने पदयात्राको मुख्य उद्धेश्य रहेको नेपाली सेनाले जनाएको छ।

    राष्ट्रिय एकताको भावना जागृत हुने कार्यहरू सम्पादन गर्ने उल्लेख भए अनुसार नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्ग लगायत धरोहरको संरक्षण, सम्बद्र्धन गर्ने उद्धेश्य पदयात्रा रहेको बताइएको छ ।

    पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखादेखि जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।