प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!

    सोनी शर्मा

    १३ बैशाख २०८१, बिहीबार

    तिमी जन्म भूमि नेपालबाट
    कर्म भूमि कतार जान
    इमान्दार भएर
    ट्रक चढेको दृश्यले
    तिमी सँगै सबैलाई रुवायो।
    जन्म घरमा पुल्पुल्याएर हुर्काइएकि छोरी
    कर्म घर भन्दै अन्माए जस्तै
    तिमीहरुलाई पनि
    मारे पाप पाले पुण्य भन्दै
    कर्म घरमा पठाइयो ।
    यहाँ चारकोसे झाडी
    तिम्रो आफ्नो घर थियो
    सिङ्गै रुख भाँचेर खाएका
    ती कलिला पातहरु
    तिम्रा भोजनमा प्रिय थिए
    तिमीले स्नान गर्ने राप्ती नदी
    अब त्यहाँ नखोज्नु है!
    अब तिम्रो कर्म भूमिमा
    गैंडा,बाघ,जरायो,मयूर,सुगा
    तिम्रा साथी हुने छैनन्
    अब तिमीले
    उँट सँग दोस्ती गाँस्नु
    बालुवाका थुप्रामा
    भासिएलान तिम्रा पाउ
    सम्हालिएर टेक्नु है!
    तिम्रो जन्म घरमा पाएको स्वतन्त्रता
    अब त्यहाँ नखोज्नु है!
    कर्म घरमा जहाँ राख्छन्
    ज्ञानी भएर बस्नु
    जे दिन्छन् खुशी भएर खानु
    जहाँ लान्छन् त्यहाँ मात्र जानु।
    तिमीलाई देशले ठूलो जिम्मेवारी दिएर
    कतार पठाएको छ।
    तिमीसँगै
    नेपालको पहिलो श्रम गन्तव्य
    कतार बनाउने सपना देखेर त होला
    भैँसी उपहार ल्याउने देशले
    तिमीलाई त्यहाँ पठाएको।
    सुन त
    तिम्रो त्यो आत्म सम्मान गल्न नदिनु है
    त्याहाँ तिमी सँगै लाखौं नेपाली युवा पनि छन्।
    रेमिट्यान्स भित्र्याउन त्यहाँ गएका
    उनीहरू तिमीलाई भेट्न आउँदा
    नेपाली भाषामा तिमीलाई बोलाएको सुन्दा
    खुशीले चिच्याउनु है।
    परिस्थिति जस्तो भएपनि
    मनस्थिति नबिगार्नु
    आफूलाई सम्हाल्दै
    जन्म भूमिको इज्यत राख्नु है!
    तिम्रो नयाँ कर्म घर सुखद बनोस्
    एक अर्कामा दुःख सुख बाढ्दै
    स्वस्थ्य भएर बस्नु है!
    प्रिय रुद्रकली र खगेन्द्र प्रसाद!