देशको पछिल्लो अवस्थाले समस्त नेपाल नै प्रभावित भएको छ र हामी मात्रै यस्वाट अछुतो रहन सकेका छैनौँ तथापी यसका अलवा समेत दमौली क्षेत्र संकट तर्फ उन्मुख भइरहेको र थप चरम संकट तर्फ उन्मुख भइरेको स्पट संकेत देखिरहेकाले पुनः आज कलम चलाउन जाँगर चलाएँ ।
केही दिन अघि एउटा अनलाईनमा सुर्यभक्त अधिकारीले व्यास जन्मभुमि दमौलीको पृष्ठभुमि बारे लेख्नुभएको लेखले पनि मलाई यो आलेख लेख्न प्रेरणा दिएको छ ।
दमौलीको संक्षिप्त पृष्ठभुमि
दमौलीको पृष्ठभुमि बारे कुनै समय तत्कालिन समयका नेता याम बहादुर आलेले व्याख्या तथा विश्लेषण गर्ने गर्नुहुन्थ्यो तर म समग्र पक्ष बारे चर्चा गर्न गइरहेको छैन यस पटक । दमौलीमा वस्ती विकास भएको पाटोबारे व्यास जन्मभुमि बारे अध्ययन गर्ने क्रममा एकजना ९० वर्ष पार गर्नुभएका विद्धानबाट केही समय पहिले एउटा जानकारी पाएको थिएँ । दमौली क्षेत्रमा परापुर्वकालमा दरै, बोटे, माझी जातीको वसोवास भए पनि ४० को दशक बाट छिमेकी जिल्ला तथा जिल्लाभित्रवाट दमौली क्षेत्रमा वसाइँसराईको अचानक बृद्धि भएको थियो ।
विशेष गरी वाग्लुुङ्ग जिल्लावाट दमौली क्षेत्रमा उक्त समयमा केही अगुवाहरुको नेतृत्वमा वसाइँको लहर चलाईएको रहेछ त्यस्को प्रमुख कारणका रुपमा त्यो अभियानको नेतृत्व गरेका विद्धानवाट मैले पाएको जानकारी अनुसार राष्ट्रगुरु योगि नरहरी नाथले जिवनको एउटा लक्ष्यको रुपमा व्यास जन्मभुमिको खोजि गर्नुभएको रहेछ, भारतका चारै जना शंकाराचार्यहरुको समेत अनुमति र सहमतिमा योगिले भारत र नेपालका विभिन्न स्थानमा झण्डै ४० वर्ष व्यास जन्मभुमिको खोजि गर्नुभएको रहेछ ।
यात्राका क्रममा दमौली, छाव्दी आइपुग्नुभएका योगिले व्यास जन्मभुमि पक्ता लगाएपछि दमौलीमा कोटिहोम लगाएर आफ्नो उक्त अभियान समापन गर्नुभएको रहेछ र सोहि अभियानमा संलग्न योगिका शिष्यले नै भविष्यमा हिन्दुहरुको यो पावन भुमि भविष्यमा धार्मिक गन्तव्यका रुपमा विकास हुनसक्ने सम्भावनाले यस क्षेत्रमा वसाइँ अभियान चलाएका रहेछन् तर विडम्वना त्यस्को ठिक ४० वर्षमा पनि व्यास जन्मभुमि बारेको प्रर्वद्धन भने अझै शिशुअवस्थामा नै रहन पुगेको छ ।
व्यास जन्मभुमिमा महान् गुरुहरुको गुपचुप भ्रमण
४ वेद र १८ पुराण सहित उप पुराण तथा ब्रह्मसुत्रका रचयिता कृष्णद्धैपायन व्यासको जन्मभुमि बारे विश्वसनिय मानिने विश्व विख्यात सर्च इन्जिन इनसाइक्लोपिडियाले दमौली र भारतको एक स्थान बारे उल्लेख गरेको छ तर भारतका तत्कालिन शंकराचार्यको भ्रमण बाहेक सार्वजनिक जानकारी हुने गरी अन्य भ्रमण बारे कमैलाई जानकारी छ र व्यास क्षेत्रको विकास तथा प्रर्वद्धनका लागि वनेको समिति संग पनि यो अभिलेख उपलव्ध छ जस्तो लाग्दैन ।
अध्ययनकै क्रममा युरोप अमेरिका सहित विश्वभर हजारौँ आश्रम स्थापना भएको स्वामिनारायण वाप्सका गुरु स्वामि विचारनले आफ्ना दिक्षा लिएका शिष्यहरुलाई जिवनकालमा एक पटक दर्शन गर्नुपर्ने शक्तिपिठका रुपमा व्यास जन्म तथा तपोभुमि दमौली वारे व्याख्या गर्नुभएको उहाँहरुको शिष्यहरुको दमौली भ्रमणका क्रममा जानकारी पाएँ, व्यास जन्मभुमिमा दर्शन गर्न आउनेमा मैले इजरेलि नागरिकलाई समेत भेटेको छु ।
भारतका थुप्रै सन्त तथा गुरुहरुको यो क्षेत्रमा हुने गरेका भ्रमणहरु बारे व्यास क्षेत्र विकास समिति वेखवर रहेकाले यी सवै भ्रमणहरु गुपचुप हुन पुग्दा व्यास क्षेत्रको प्रर्वद्धनले व्यापकता पाउन नसकेको स्पष्टै देखिन्छ ।
संकट उन्मुख दमौली क्षेत्र
विदेशिने लहरले समग्र देश संगै यो क्षेत्र पनि प्रभावित हुनु स्वाभाविकै हो तर विस्तारका क्रममा रहेको पृथ्वीराजमार्ग निर्माण सम्पन्न भए पश्चात् दमौली क्षेत्रले चरम संकट भोग्नुपर्ने निश्चत छ ।
तत्कालिन समयमा पृथ्विराजमार्ग गोरखा, लम्जुङ हुँदै पोखरा प्रवेश गर्ने एलाइन्मेन्ट डा भेषबहादुर थापाले तनहुँ हुँदै पोखरा जाने गरी परिवर्तन गरिदिएकाले हाल सम्म व्याज खान पाएको यो क्षेत्र त्यही पृथ्वि राजमार्ग निर्माण पछि संकटमा पर्ने देखिएको छ ।
पर्यटकिय नगरी तथा प्रदेश राजधानी संग जम्मा ५० किमिको दुरीमा रहेको दमौली वजारवाट स्तरीय राजमार्ग निर्माण भए पछि किनमेल, मनोरन्जन देखि स्वास्थोपचार हुँदै वालवालिका पढाउन समेत केही मिनेटको दुरीमा रहने पोखरा उपयुक्त गन्तव्यको रुपमा स्थापित हुँदा यहाँका सवैको विस्थापनको जोखिम वढेको हो ।
त्यो अवस्थामा यहाँको आर्थिक गतिविधि चलायमान गराउन अहिले देखि नै अपनाउनुपर्ने रणनीति वारे यहाँका नीति निर्माता वेखवर झैँ लाग्छन् । दमौली क्षेत्रको आर्थिक गतिविधि चलायमान गराउन र यस क्षेत्रको विकासका लागि एक मात्र र पहिलो विकल्प निर्विकल्प व्यास क्षेत्र नै हो । हाल पशुपति र मुक्तिनाथ भ्रमणमा आउने भारतीय र नेपाली धार्मिक पर्यटकलाई लक्षित गरी व्यास क्षेत्रको प्रर्वद्धन गर्न ढिलाई गरिए ठुलो नोक्सानि व्योहोर्नुको विकल्प छैन । व्यास क्षेत्र दमौली मात्र होइन, छाव्दी, मानुङ देखि पुर्कोट सम्म व्यास क्षेत्र हुन् जुन विषय प्रति हामी यहीँका वासिन्दा समेत जानकार भए जस्तो लाग्दैन ।
पोखराबाट निकट भविष्यमा विस्थापन हुन लागेका साहसिक पर्यटन वारे कुश्माले चाल पाईसक्दा र प्रशस्त सम्भावना प्रमाणित भइसक्दा पनि हाम्रो क्षेत्रमा साहसिक पर्यटनका लागि सिन्को भाँच्ने काम नहुँदा यो क्षेत्र थप संकट उन्मुख भएको टुलुटुुलु हेरेरै वस्नुको विकल्प छैन । अस्तु ः