गुल्मी र बागलुङमा पहिरोले पुरिएर पॉचको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गुल्मी र बागलुङमा पहिरोले पुरिएर पॉचको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १५ असार २०८१, शनिबार

    काठमाडौ । गुल्मी र बागलुङमा पहिरोले पुरिएर पॉच जनाको मृत्यु भएको छ। गुल्मीमा तीन र बागलुङमा दुई जनाको मृत्यु भएको छ।

    गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन् ।

    पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको शव फेला परेको छ । सुन्तली र विपनाको अवस्था भने अज्ञात छ । इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए ।

    बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

    पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।