दमाैली । तनहुँको भिमाद नगरपालिका–५ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१ बगर बस्ने ३८ वर्षीया रुपासरा रानालाई विदेश पठाइदिन्छु भनेर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३८ वर्षीया मनुमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
रुपासरालाई सामाजिक सञ्जालमार्फत् सम्पर्क गरी वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनी विश्वास दिलाई विभिन्न बैङ्कहरुको खातामा पैसा जम्मा गर्न लगाइ रु ७९ लाख ९७ हजार नौ सय ९९ निकालिसकेको अवस्थमा निजलाई बुधबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।
प्रहरीले निजबाट रु चार लाख ८० हजार र विभिन्न सातवटा बैङ्कको चेकबुकहरु बरामद गरेको छ । निजविरुद्ध ठगी सम्बन्धी कसुरमा तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरिक्षक रायले भने, “जापानमा फेमिली भिषा लगाइ पठाईदिन्छु भनी विश्वास दिलाई रुपासराबाट रु ७९ लाख ९७ हजार नौ सय ९९ ठगी गरेको उजुरी परेको थियो ।”