रथी सिग्देलको उमेर सम्बन्धमा आशंका गर्ने ठाउँ नरहेको सेनाको प्रष्टोक्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रथी सिग्देलको उमेर सम्बन्धमा आशंका गर्ने ठाउँ नरहेको सेनाको प्रष्टोक्ति

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८१, बिहीबार

    काठमाडौं । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममिति सम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको बताए ।

    रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे ।

    रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्ममिति २०२३ माघ १९ उल्लेख छ ।

    यस्तै, विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय)बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ । रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गर्नुभएको सहायक रथी केसीले जानकारी दिए ।

    नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानूनी व्यवस्था रहेको उनले जानकारी गराए ।

    ‘कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने’ व्यवस्था रहेको उनले स्पष्ट पारे । (नेपाल प्रेसबाट)