‘मिसन – ०८४’ अहिलेको नेपाली राजनीतिमा धेरैको ‘थेगो’ बनेको छ ।
- कसैलाई घुर्क्याउनु पर्यो – ०८४ मा देखाई दिउँला ।
- कसैलाई थर्काउनु पर्यो – ०८४ मा देख्लास् ।
- कसैलाई निराश बनाउनु पर्यो – ०८४ मा तेरो पत्तासाप ।
- अनि धक्कु लगाउनु पर्यो – ०८४ पछि त हाम्रै पालो ।
अहिले नेपाली राजनीतिका चल्तिका ‘डाइलग’ हुन् ।
यसको अर्थ ०८४ निर्वाचनको वर्ष हो । त्यो निर्वाचनमा म जित्छु । अनि अरु सबै हार्छन् ।
यस्ता अभिव्यक्ति भित्र – “निर्वाचन म जित्छु । जसरी पनि मैले जित्नैपर्छ ।” यही अहङ्कारपूर्ण भाव खुलेआम प्रकट भइरहेको सहजै बुझ्न सकिन्छ । निर्वाचनमा विजयी बनिसकेपछि ‘देश र जनताको लागि यो यो राम्रो काम गर्छु । मसँग यो समाजलाई अग्रगामी दिशामा अगि बढाउन यो खालको “भिजन” छ । अर्थात मसँग यी ‘एजेन्डा’ छन् र तिनको कार्यान्वयनमा इमानदारीपूर्वक लाग्छु ।’ कोही चर्चा गर्न चाहँदैन ।
निर्वाचन जित्ने कुरा मात्र पद, पावर, पैँचो (बदला) पैसा र प्रतिष्ठा (पाँच प)सँग जोडिएर आउने गरेको छ । यो नै अहिले नेपालीका लागि सबैभन्दा दुर्भाग्यपूर्ण बिषय हो ।
‘निर्वाचनमा बिजय/पराजय जे होला, म आफ्नो “मिसन” बाट डगमगाउने छैन । जे जस्तो परिस्थितिमा पनि आफ्ना मूल्य, मान्यतामा अडिग रहनेछु । सदा यो समाजको अग्रगामी रूपान्तरणका लागि मन, वचन र कर्मले लागिरहनेछु ।’ यो भाव अब बिरानो बन्दैछ ।
जताततै ‘सिस्टम’ भताभुङ्ग छ । बेथिति र बिसङ्गतिले जनता आजित छन् । आक्रोश, निराशा अनि कुण्ठा नेपाली समाजको पर्याय बन्दैछ । यस्तो सङ्गीन घडीमा –
‘०८४ नै किन चाहियो ? आज देखि नै मेरो मिसन यो हो । भोलि र पर्सीका दिनमा पनि यो मिसनप्रति म उत्तिकै इमानदारीपूर्वक लाग्नेछु।’ यस्तो सोच अहिलेको टड्कारो आवश्यकता हो ।
तर मिसन – ०८४ को प्रलाप भित्र सत्ता प्राप्तिको झुसिलो दुर्गन्ध मात्र फैलिरहेको सहजै अनुभव गर्न सकिन्छ ।