दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा जारी दोस्रो अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका र तनहुँको व्यास नगरपालिका विजयी भएको छ ।
म्याग्दे गाउँपालिका–५ छाङपाटनस्थित खेलमैदानमा शनिबार भएको पहिलो खेलमा तनहुँको भानु नगरपालिकालाई १–० ले पराजित गर्दै अन्नपूर्ण अर्को चरणमा प्रवेश गरेको छ । त्यस्तै दोस्रो खेल तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाबीच रहेकामा देवघाट गाउँपालिका अनुपस्थित भएपछि व्यास नगरपालिका विजयी हुँदै अर्को चरणमा प्रवेश गरेको म्याग्दे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए।
प्रतियोगिता अन्तर्गत तेस्रो दिन आइतबार म्याग्दे गाउँपालिका र कास्कीको रुपा गाउँपालिका तथा तनहुँको ऋषिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच खेल हुनेछ ।
प्रतियोगितामा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने केसीले जानकारी दिए ।
तस्बिर : लमजुङ स्पाेर्टस्