दमौली । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै महामन्त्री शर्माले वर्तमान व्यवस्थालाई बलियो बनाउँदै सुधार गरेर लैजानुको विकल्प नभएको बताए ।
अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै महामन्त्री शर्माले राजतन्त्र फर्किन्छ भन्ने भ्रम नराख्न आग्रह गरे । उनले जनतामा निराशा र असन्तुष्टि रहेको स्वीकार गर्दै त्यसलाई सम्बोधन गरेर जानुपर्ने बताए । उनले भने, “जनताका निराशा र असन्तुष्टि सम्बोधन गर्ने प्रमुख राजनीतिक दलको जिम्मेवारी हो । निराशा र असन्तुष्टि छ भन्दैमा पुरानै व्यवस्थामा फर्किएर त्यसको निराकरण हुन्छ भन्नु भ्रम मात्रै हो ।”
महामन्त्री शर्माले चैत ५ गते भएको स्ववियु निर्वाचनको नतिजाले नै राजतन्त्रको पक्षमा जनमत छैन भन्ने पुष्टि गरेको जिकिर गरे । उनले भने, “विद्यार्थीको निर्वाचनमा राप्रपाका विद्यार्थीले जम्मा एक जनाले सभापतिमा जितेका छन् । राजाको पक्षमा लागेकामध्ये एउटा क्याम्पसमा मात्रै विजय हासिल गर्नुभएको छ । त्यसले नै जनता पुरानो व्यवस्थाको पक्षमा छैनन् भन्ने प्रमाणित गरेको छ ।”
महामन्त्री शर्माले देशैभर प्रकट भएको मत लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको पुष्टि गरेको उल्लेख गरे । उनले भने, “राजतन्त्र फर्किन्छ भन्ने कल्पना नगरौ, तर हामीले गर्ने काममा सुधार आवश्यक छ । हामीले काममा ढिलाइ ग¥यौ भने जनतामा असन्तुष्टि छाउछ, जनताका असन्तुष्टि सम्बोधन गर्ने गरी काम गरौ ।”
महामन्त्री शर्माले काङ्ग्रेस बलियो हुनुपर्ने र त्यसका लागि सबैबीच एकता आवश्यक रहेको उल्लेख गरे । एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसको अस्तित्व स्वीकार गर्न सकेमात्रै जनताले काङ्ग्रेसलाई स्वीकार गर्ने महामन्त्री शर्माको भनाइ थियो । उनले भने, “काङ्ग्रेसले आन्तरिक सुधार गर्नुपर्छ, त्यो देशैभर समस्या छ । त्यसलाई सुधार गर्दै काङ्ग्रेस एक बनाउने अभियानमा सबै लाग्नुपर्छ ।”
महामन्त्री शर्माले काङ्ग्रेस बदलिँदै गएको र देशका प्रमुख मुद्धामा स्पष्ट रहेको उल्लेख गरे । उनले नयाँ भनिएका दलहरु अलमलिएको अवस्था रहेको र उनीहरुमा कुनै स्पष्ट धारणा समेत नभएको आरोप लगाए ।