दमौली, ३१ चैत । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित प्रसिद्ध तीर्थस्थल ईशानेश्वर महादेव मन्दिर परिसरमा शनिबार श्रीरामनाम जप स्तम्भ अनावरण गरिएको छ। हनुमान जन्मोत्सवको अवसर पारेर श्रीरामनाम लेखन समूहले आयोजना गरेको कार्यक्रममा महामण्डलेश्वर डा. आत्मानन्द गिरिले स्तम्भको अनावरण गरे।
समूहका संयोजक लेखनाथ घिमिरेका अनुसार रामायणमा एक पटक ‘श्रीराम’ लेख्नुलाई सय पटक उच्चारण गरेजत्तिकै पुण्य प्राप्त हुने उल्लेख छ। यही मान्यताले प्रेरित भएर लेखन अभियान सुरु गरिएको हो।
समूहका सचिव तथा कार्यक्रम संयोजक सोमलाल कडेलले अनावरण गरिएको स्तम्भमा कुल २ करोड ५० लाख श्रीराम नाम लेखिएको जानकारी दिए। मन्दिर विकास समितिसँगको समन्वयमा स्तम्भ मन्दिर परिसरमा स्थापना गरिएको हो। नियमित पूजा तथा स्तम्भको संरक्षणका लागि दुई लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिएको छ ।
सोही कार्यक्रममा ‘श्रीराम’को जन्मस्थान नेपालमै भएको हुनसक्ने विषयमा पनि छलफल भयो। रामायणमा उल्लेखित शालिग्राम पाइने ठाउँ, दक्षिणबाट उत्तरतर्फ बग्ने नदीलगायत तथ्यहरू रामको जन्म नेपालमै भएको संकेत दिने लामो समयदेखि रामका बारेमा अध्ययन गर्दै आएका विद्वान लोकमणि पौडेलको भनाइ थियो।
रामनाम लेखन अभियानको सुरुवात म्याग्दीस्थित गलेश्वरधामबाट १० जनाको समूहले गरेका थिए। दोस्रो चरणमा तनहुँको देवघाट, तेस्रोमा कास्कीको केदारेश्वर, चौथो चरणमा गगनगौंडास्थित राम मन्दिर हुँदै पाँचौँ चरणमा ईशानेश्वर मन्दिरमा स्तम्भ स्थापना गरिएको संयोजक घिमिरेले जानकारी दिए।
उनका अनुसार श्रीराम लेखन योग पनि हो, जसले श्वासप्रश्वास नियन्त्रण गराउने भएकाले मानसिक शान्ति र स्वास्थ्यमा समेत लाभ पुग्छ। नेपालका सबै प्रमुख धार्मिक स्थलहरूमा श्रीरामनाम लेखिएको स्तम्भ स्थापना गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको समूहले जनाएको छ ।