काठमाडौं , १ असार । बाराको निर्वाचन क्षेत्र नं. ४ का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले मेची राजमार्गको पाँचथर खण्डअन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा निधन भएका तीन मजदुरको परिवारलाई यथाशीघ्र क्षतिपूर्ति दिन माग गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिँदै सांसद श्रेष्ठले घाइते मजदुरको निःशुल्क उपचारको माग गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्ने उक्त पुल जडानका क्रममा आइतबार ६ जना घाइते भएका थिए । त्यसमध्ये तीन जनाले ज्यान गुमाए ।
गत वर्षको असोज १२ गते आएको बाढीका कारण उक्त पुल भत्किएको थियो । त्यसअघिको पक्की पुल २०८० असार २ को बाढीले भत्काएपछि बेलिब्रिज जडान गरिएको थियो । फेरि वर्षायाम शुरु हुन लागेपछि गत वर्षको बाढीले भत्काएको उक्त पुल पुनः जडानकार्य हुँदा उनीहरु दुर्घटनामा परेका हुन् ।
ज्यान गुमाउनेमा बारा, सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी छन् ।