मेरी आमा र मेरो बाल्यकालको डायरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    मेरी आमा र मेरो बाल्यकालको डायरी

    भगवान त्रिपाठी

    २० पुष २०८२, सोमबार

    बुवाले आमाको सिन्दूर खोसेर मृत्युलाई अँगालो हालेको वर्षदिन नपुग्दै हाम्रो खेतबारी आफैँ सर्दै गए, ढुङ्गा खिइँदै गए, साँध हराउँदै गयो, आँगन साँघुरिँदै गयो। श्रीमान् गुमाएको शून्यताभन्दा पनि गहिरो थियो “मेरी आमाले दिनदिनै गुमाउँदै गएको मानवीय व्यवहार”।

    म अवोध बालक, शोकले च्यापिएकी आमालाई पटक–पटक सोधिरहन्थेँ “आमा, हाम्रो आँगन किन दिनदिनै साँघुरिँदैछ?” आमाले मनका भग्नावशेष मिलाउँदै, आँसु नदेखिने गरी मुस्कुराउने प्रयास गर्दै भन्नुहुन्थ्यो “छोरा, घरको मुख्य खाँबो ढलेपछि छायाँ पनि आश्रय खोज्दै हिँड्छ।”

    त्यसपछि म गन्दै जान थालेँ; बुवाले धर्ती छाडेपछि हाम्रो के–के ढल्यो।

    छिमेकको अपनत्व ढल्यो, आफन्तको पाइला हरायो, चाडपर्वको उज्यालो निभ्यो, गाउँलेको नजर फेरियो।

    अझ सबैभन्दा पहिले खोसियो; मेरी आमाको नाम।

    आमा अब “फलानीकी श्रीमती” रहनु भएन।उहाँ “बिदुवा” बनाइन्, “पोई टोकुवा”भनिइन्, र अन्ततः “बोक्सी।”

    बाबुको मृत्युपछि बेसहारा भएकी मेरी आमा, गाउँ–समाज र आफन्तको निरन्तरको आरोपले अर्धमृत भइन्। गाउँमा कोही बिरामी पर्‍यो भने दोष आमाको सासमा टाँसियो। छिमेकीको भैँसीले दूध नदिँदा मेरो घरको तगारोमा खुर्सानीको राग पड्काइयो।

    म सधैं सोध्थेँ “आमा, तिमी किन सधैं बिरामी ?” आमाले आँसु निल्दै भन्नुहुन्थ्यो “बाबु, आफ्नै आँखा लाग्यो रे।”

    हो, त्यही दिन म छोरा भएर उभिएँ। 

    मेरो बाल्यकाल मौन विद्रोहमा परिणत भयो। मैले बुझें आमाको सिन्दूर खोसिएको दिन विधवा बनाउने त बुवाको मृत्यु थियो, तर दोषी बनाउने यही हाम्रो समाज र ती ओठहरू थिए, जो अन्याय हुँदा समेत चुप लागेर तमासा हेर्थे।

    मेरी आमाले समाजको धारिलो खुकुरीको चोट सहेर बाँचेकी हुन्। म अब त्यो खुकुरीविरुद्ध उभिएको आवाज हुँ। म ती आमाहरूको कथा बोल्छु, जसको पीडा कहिल्यैमुद्दा बनेन। म ती छोराछोरीको शव्द बोल्छु, जसले आमालाई बचाउन बाल्यकालमै परिपक्व हुनुपर्‍यो।

    होयी कथाहरू दशकौँ अघिका हुन्। जुन मेरो बाल्यकालको डायरीमा शुरक्षित थिए, छन् र हुनेछन्।

    आज देश फेरिएको छ, समाज बदलिँदैछ। कानून छन्, आवाज उठाउने पुस्ता छ। तर अझै पनि देशको कुनै कुनामा आँगन साँघुरिन सक्छ, आमा मौनतामा जलेर सन्तान हुर्काइरहेकी हुन सक्छिन्।

    अब त्यो दिन नआओस्। अब कुनै आमा श्रीमान् गुमाएको पीडाभन्दा समाजको आरोपले नढलून्। अब विधवापन अपराध नबनोस्। अब सन्तानले आफ्नै आँगन साँघुरिँदै गएको प्रश्न गर्न नपरोस्।

    हामी यस्तो समाज बनाऔँ जहाँ सिन्दूर खोसिँदा पनि सम्मान नखोसियोस्। जहाँ आमाको मौनतालाई कमजोरी होइन, संघर्षको इतिहास मानियोस्। जहाँ छोराछोरीले आमाको आँसु होइन, आँटको कथा सुनाउन पाऊन्।

    धन्यवाद।- भगवान त्रिपाठीभानु नगरपालिकातनहुँ