स्थापना दिवसका अवसरमा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    स्थापना दिवसका अवसरमा सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७७, आईतवार

    तनहुँ : सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो नवौँ स्थापना दिवसका अवसरमा शनिबार तनहुँको भिमाद नगरपालिका–२ टेक्रेस्थित बालविकास माध्यमिक विद्यालयमा सहयोग गरेको छ ।

    लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्र्याकसुटका साथै स्टेशनरी र खेलकूदका सामग्री वितरण गरेको हो । क्लबले केही वर्ष अघिदेखि फजुल खर्च गरेर आफ्नो स्थापना दिवस मनाउने परिपाटीको अन्त्य गर्दै विभिन्न सामाजिक काम गरी स्थापना दिवस मनाउँदै आएको क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।

    सोही अवसरमा बाबा फाउण्डेशन नेपालद्वारा उपलब्ध गराइएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फउण्डेशनले विगत पाँच वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको छ ।

    भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने बताउनुभयो ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै त्यसतर्फ केन्द्रित बन्न विद्यालयलाई सुझाव दिनुभयो । संविधानले मौलिक हकका रूपमा शिक्षालाई उल्लेख गरेको चर्चा गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वय हुनुपर्नेमा जोड दिनुभयो ।

    क्लबले सामाजिक सेवाका क्षेत्रमा आफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले विद्यालयमा यसअघि पुस्तकालय स्थापनामा पनि सहयोग गरेको जानकारी दिनुभयो । आगामी दिनमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिने उहाँहरूको भनाइ थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इमानसिंह थापा, प्रधानाध्यापक रामजी सिग्देललगायतले व्यक्तिगतरूपमा सहयोग सङ्कलन गरी क्लबको नाममा विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा क्लब परिवार र बाबा फÞाउण्डेशन नेपालप्रति आभार व्यक्त गर्नुभयो ।