दुलेगाैडा :
मर्ने कसैलाई रहर हुँदैन
तर, नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाऊ
मान्छे नमर्ने शहर हुँदैन
गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागि लेख्नुभएको गीतका यी हरफ जस्तै छ, ३४ वर्षीया अनिता सुवेदीको जीवन कथा पनि । तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचिरहनुभएको छ उहाँ ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी सुवेदीलाई मिर्गौला फेरर च्वाट्टै निको हुने मन छ । तर, आर्थिक अभावले हप्ताको एक पटक डायलासिस गराउन पनि समस्या छ । ‘कुन शहर होला र जहाँ बिना पैसा उपचार गराएर निको हुने ?’, यस्तै सोच्नुहुन्छ उहाँ ।
रोगले अनुहार सुन्निएको छ । निको हुनलाई सुई खोप्दा खोप्दा हातमा झनै घाउ बनेको छ । तैपनि निको हुने आश मरेको छैन । तर, आर्थिक अभावको मार बेस्सरी खेप्नुभएको छ उहाँले ।
उहाँको दमौली अस्पतालमा रहेको शत्रुघन मन्जु डायलासिस केन्द्रमा हप्ताको एक पटक डायलासिस गरिन्छ । नेपाल सरकारले गरेको व्यवस्था अनुसार निशुल्क डायलासिस हुन्छ । तर, डायलासिस गरेपछि फेर्नुपर्ने रगत, औषधी र यातायात खर्च कसरी जुटाउने भन्ने चिन्ताले कहिल्यै छाड्दैन उहाँलाई । हप्तामा ५ हजार रुपैयाँको हाराहारीमा खर्च लाग्ने गरेको उहाँले सुनाउनुभयो ।
मिर्गौला फेल भएको थाहा पाएदेखि वर्षदिन जेनतेन आफ्नै खर्चमा उपचार गराएको उहाँले बताउनुभयो । दुई वर्षदेखि भने निरन्तर दाताले दिएको सहयोगको भरमा अनिताको उपचार भईरहेको छ । कोही जन्मदिनमा मनाउने खर्च अनिताको उपचारलाई दिन्छन् । दयालाग्दो अवस्था देखेर विदेशबाट पनि उहाँलाई सहयोग आईरहन्छ । ‘कहिल्यै घरमै आएर सहयोग दिनुहुन्छ । कहिले हामी घरदैलोमा पुगेर सहयोग उठाउदै हिड्छौँ,’ उहाँले भन्नुभयो ।
अनितासँगै ६० बर्ष नाघेकी आमा जानुका पनि घरदैलो चाहार्दै सहयोग उठाउँदै हिँड्नुहुन्छ । ‘उपचार गराउनलाई आफूसँग सुक्को रकम छैन । सहयोग नउठाए छोरीको उपचार हुँदैन,’ गहभरी आँसु भर्दै उहाँ भन्नुहुन्छ, ‘श्वास रहुन्जेल आश लाग्दो रैछ क्यारे । मागेरै भएपनि उपचार गराउन पाईयो भने त दुई चार दिन बढी छोरी बाँच्ली ।’
अनिताका दाजु ३८ वर्षीय अर्जुन बिस्तारामै थला हुनुहुन्छ । सानै छँदा घरको छतबाट खस्नुभएका उहाँको उपचार हुन पाएको छैन । तीन वर्ष अगाडी सम्म घिस्रिएर दिशापिसाब गर्नलाई शौचालयसम्म जाने उहाँ स्याहार पाउन छाडेपछि थला पर्नुभएको छ । हर प्रहर बिस्तारमा गुजुल्टिएर बस्नुहुन्छ ।
छोरोको पनि आर्थिक अभावले उपचार गराउन कठिन भएको आमा जानुकाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘एउटीलाई त उपचार गराउन सकिएको छैन् । छोरोलाई कसरी लैजाम अस्पताल ।’ अनिताको कान्छा भाईले घर खर्च चलाउन तरकारी बेच्न गर्दछन् । बहिनीलाई भने परिवारको रेखदेखमै ठिक्क छ ।