दुलेगाैडा । भिमाद नगरपालिका–९ पादर्थीमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । पर्यटन प्रबद्र्धनका लागि पाथर्दी युवा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
बिहीबार सुरु प्रतियोगितामा डेढगाउँ र मोहोरिया विजयी भएका छन् । उद्घाटन खेलमा डेढगाउँ नवलपुर विजयी भएको छ । डेढगाउँले कटनछापलाई २–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा डेढ गाउँका सामु कटनछाप निकै कमजोर सावित भएको थियो । डेढगाउँले कटनछापलाई २५–१३ अंकको फराकिलो अन्तरमा पराजित गरेको हो । दोस्रो सेटमा कटनछाप विजयी भयो । कटनछापले डेढगाउँलाई २५–२२ अंकमा पराजित गर्न सफल भयो । अन्तिम सेटमा २५–२१ को अंकमा कटनछापलाई पराजित गर्दै डेढगाउँ दोस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबारको दोस्रो खेलमा मोहोरिया विजयी भएको छ । आयोजक पाथर्दी युवा क्लबको समहु ‘बि’ लाई २–० को सोझो सेटमा पराजित गर्दै मोहोरिया दोस्रो चरण प्रवेश गर्न सफल भएको छ । २५–२२, २५–१५ अंकको अन्तरमा मोहोरिया विजयी भएको हो । प्रतियोगिताको दोस्रो दिन शुक्रबार आज १२ खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको वडाध्यक्ष इमानबहादुर थापाले उद्घाटन गरे । उनले युवालाई सक्रिय बनाउन खेलकुद आवश्यक रहेको बताए । खेलकुदको विकास गर्न वडाले सक्दो सहयोग गर्ने उनको भनाई छ ।
प्रतियोगितामा ३० समूहको सहभागिता रहेको खेल संयोजक विजय रानाले बताए । उनका अनुसार तनहुँसँगै स्याङजा र नवलपुरका समुहको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ६० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउने आयोजकले जनाएको छ । उपविजेताले ४० हजार रुपैयाँको साथमा नौ थान जर्सी पाउनेछन् । तेस्रोले १५ हजार रुपैया,ँ मेडल र प्रमाणपत्र,सान्त्वनाले १० हजार हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने जनाईएको छ ।
खेल भिमाद नगरपालिका–९ पाथर्दी खेलमैदानमा हुनेछ । पाथर्दी सामुदायिक होमस्टे र पाथर्दीै बोर बाख्रा स्रोत केन्द्र प्रतियोगिताको संरक्षकको रुपमा रहेका छन् । क्लबले माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कार्यक्रम पनि गर्दैछ ।