दमाैली । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाको आयोजनामा मङ्गलबार महिला हाफ म्याराथन प्रतियोगिता हुँदैछ । खेलकुदको माध्यमबाट पर्यटकीय ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य सहित व्यास–३ व्यासगुफा र व्यास–११ तनहुँसुरसम्म महिला हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ४४ महिला धावकले नाम दर्ता गराएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । “प्रतियोगितामा सहभागी धावकलाई साेमबार रुटको बारेमा जानकारी गराइएको छ,” श्रेष्ठले भने ।
महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । महिला हाफ म्याराथनमा प्रथम हुनेलाई रु ४१ हजार ७८, द्वितीय हुनेलाई रु ३१ हजार ७८, तृतीय हुनेलाई रु २१ हजार ७८ र सान्त्वना हुने पाँच जनालाई रु ११ हजार ७८ पुरस्कार प्रदान गरिनेछ ।
व्यासगुफादेखि अनसनचौतारी, दुर्गामन्दिर, भोर्लेटारचोक, गणेशमानचोक, वनकार्यालय, सफासडक हुँदै पृथ्वीराजमार्गको तालघरे, बाराहीरानी मार्गको रानीगाउँ, दरैपधेरा, पराजुलीचोक, पराशर मार्गको बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारचोक, चण्डिथान, गद्धीचौतारा हुँदै व्यास–११ स्थित ऐतिहासिक तनहुँसुरदरवारसम्म दौड हुनेछ । उक्त दूरी २१ किमिको रहनेछ ।
“धार्मिक रुपमा परिचित व्यासगुफा र ऐतिहासिक स्थलको रुपमा परिचित तनहुँसुरलाई खेलको माध्यमबाट जोड्ने उद्देश्य सहित म्याराथन गर्न लागेका हौ,” उपप्रमुख जोशीले भनिन ।