विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    काठमाडौ । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ ।

    नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुआत गरेका छन् । गधा कृषि, उद्योग तथा अन्य व्यवसायको क्षेत्रमा भारी बोक्ने काममा प्रयोग गरिन्छ ।

    घाइते र कमजोर अवस्था भएमा वा जीवनको अन्तिम अवस्थामा लावारिस र दुर्दशामा देखिने गधाको उपचार, हेरचाह र बासस्थान विषयमा सचेतना जगाउन दिवस मनाउन सुरु गरिएको हो । अति सहनशील बानीको गधा संरक्षणबारे सचेतना ल्याउन, उपचारसहित बासस्थान व्यवस्था र गधाबारे अध्ययन गर्ने गरी विश्वमा पुनःस्थापना केन्द्र खुल्ने क्रम पनि बढेको वरिष्ठ पशु चिकित्सक डा अतिषकुमार यादवले बताए ।

    उनका अनुसार अश्व प्रजातिमा घोडा, गधा र जेब्रा पर्छन् भने खच्चड हाइब्रिड हो । भाले गधा र पोथी घोडीको सङ्सर्गबाट खच्चड जन्मिने हो । घोडा र खच्चडको तुलनामा गधालाई भने कम महत्वले हेरिन्छ । यो नेपालका दुर्गम पहाडी भू–भागमा सामान ढुवानी गर्न र इँटाभट्टामा इँटा बोक्ने काममा बढी प्रयोग हुँदै आएको छ ।

    लावारिस छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्न तथा सचेतनाका लागि भनेर ‘एनिमल नेपाल’ संस्थाले ललितपुरमा ‘डुकुछाप डङ्की सेन्चुरी’ नाममा गधा पुनःस्थापना केन्द्र स्थापना गरेको छ । सो संस्थाले साताभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको संस्थाका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले जानकारी दिए ।

    काम नलाग्ने भएपछि लावारिस छाड्ने क्रम बढ्दो

    पुनःस्थापना केन्द्रमा हाल काठमाडौँ, ललितपुर र भक्तपुरका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि लावारिस छाडिएका दुई दर्जन बढी घोडा, खच्चड र गधा छन् । केन्द्रमा स्याहार र उपचारका लागि पशु चिकित्सकसहित प्राविधिक र अन्य कर्मचारी खटिएका छन् ।

    कार्यकारी निर्देशक जोशीले सो पुनःस्थापना केन्द्रको अवधारणा सन् २००९ देखि इँटा उद्योगमा काम गर्ने गधा, खच्चड र घोडाका लागि औषधोपचार गर्ने र यो जनावर पाल्ने समुदायमा चेतनाको स्तर बढाउन तालिम दिने उद्देश्यले ल्याएको बताए ।

    संस्थाले घाइते घोडा, खच्चड र गधाको उद्धार गरी पुनःस्थापना केन्द्रमा ल्याउने र उपचार गरी त्यही राख्ने गरेको छ । यो उनीहरुको बारेमा थप जान्न चाहनेका लागि अध्ययन तथा सिकाइ थलो पनि बनेको उनले बताए । केन्द्रमा हाल हिकाष्ट कलेजका पशु चिकित्सक विषयमा अध्ययरत विद्यार्थीले ‘इन्टर्न’ गरिरहेका छन् ।

    खासगरी माटोका भाडा बनाउने कसगर, धोबी र कलन्दर समुदायले गधा पाल्ने गर्छन् । कामको सिजनमा देशभरका इँटाभट्टामा इँटा बोक्ने काममा प्रयोग गर्ने र अन्य समयमा बाँकेको नेपालगञ्ज, महोत्तरी, रौतहट, सिरहालगायत तराई क्षेत्रमा माटाका भाँडा बजारसम्म बोक्ने तथा पहाडमा ढुवानीको साधनका रूपमा गधाको प्रयोग गर्ने गरिन्छ ।