दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित निर्मल माध्यमिक विद्यालयमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले खेलकुदले नेपालको नाम अन्तर्राष्ट्रियस्तरसम्म चिनिन सफल भएको बताए।
प्रतियोगिता उद्घाटन समारोहमा नेकपा (एमाले) का जिल्ला सचिव राजेश्वर ढकाल, नेपाली काङ्ग्रेसका सचिव लक्ष्मीभक्त खनाल लगायतले शारीरिक र मानसिक विकासका लागि खेल आवश्यक रहेको बताए।
प्रतियोगितामा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, म्याग्दे गाउँपालिका र घिरिङ गाउँपालिकाबाट खेलाडीको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।
आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा कराँते, एथलेटिक्स, भलिबल, कबड्डी लगायतका खेल सञ्चालन हुनेछ । तनहुँबाट छनौट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । प्रदेश खेलकुद परिषद्ले असार २३ र २४ गते पोखरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।