दमौली । व्यास नगरपालिका-५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले बिहीबार आयोजना गरेको मैत्रीपूर्ण फुटबलको उपाधि कालीभञ्जनले जितेको छ ।
व्यास युवा क्लवलाई २-१ गोल अन्तरले पराजित गर्दै कालीभञ्जनले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो ।
खेलमा कालीभञ्जनका तर्फबाट टेकबहादुर विकले पहिलो हाफको १४ मिनेटमा र देवराज बोहराले दोस्रो हाफको ७ मिनेटमा गोल गरेका थिए। व्यास युवा क्लवका तर्फबाट विवेक गुरुङले दोस्रो हाफको १० मिनेटमा ट्राइबेकरमार्फत् सान्त्वना गोल गरेका थिए।
विजेता टोलीलाई मध्य कमाण्ड हेटक्वाटरका कमान्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा उपरथी श्रेष्ठले सेना र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउन सेनाले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।