एजेन्सी । स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्यिन्स लिग फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
पाँच पटकको विजेता बार्सिलोना दुई खेल अगावै समूह चरणबाटै बाहिरिएको हो।
केहीबेरअघि सम्पन्न खेलमा इटालियन क्लब इन्टर मिलानले चेक क्लब भिक्टोरिया प्लाजानलाई ४–० ले हराएपछि बार्सिलोनाको आशा सकिन पुग्यो।
यससँगै बार्सिलोना लगातार दोस्रोपटक युरोपकै सर्वाधिक प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ। गत सिजन पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।
प्रमुख खेलाडी लियोनल मेसीले क्लब छोडेपछि बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरण पार गर्न सकेको छैन।
बार्सिलोना रहेको समूह सीबाट जर्मन क्लब बायर्न म्युनिख यसअघि नै अन्तिम १६ मा पुगिसकेको थियो। बुधबार रातिको जितसँगै इन्टर पनि नकआउट चरणमा पुगेको छ।
समूहमा तेस्रो स्थानमा रहेको बार्सिलोनाले युरोपा लिग खेल्नेछ।
बुधबार साँझ नै भएको अर्को खेलमा बेल्जियन च्याम्पियन क्लब ब्रुगलाई ४–० गोल अन्तरले हराउँदै पोर्चुगिज क्लब पोर्टो नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। पराजित क्लब ब्रुग यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ।
अहिले विभिन्न ६ खेल चलिरहेका छन्। जसमा आउट भइसकेको बार्सिलोनाले बायर्नसँग अर्थहीन खेल खेलिरहेको छ।
यो समाचार तयार पार्दासम्म बार्सिलोना घरेलु मैदानमै २–० ले पछाडि छ।