


पोखरा। पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा अधिकारी पक्राउ परेका हुन् ।
मंगलबार वडाध्यक्ष अधिकारी प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले बताए । ‘उहाँ आफैँ जिल्ला प्रहरी कार्यालयमा आउनुभयो । अदालतबाट म्याद थप्ने काम हुँदैछ’, उनले भने । जाहेरीको सम्बन्धमा अब अनुसन्धान सुरु गरिने उनले बताए ।
पोखरा महानगरपालिका–२४ की दलित महिला सदस्य मैया नेपालीले जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार वडाध्यक्षविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । वडाध्यक्ष अधिकारीलाई पक्राउ गरी जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धि कसुर र सजाय ऐन २०६८ बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ ।
वडामा लक्षित समूहका लागि विनियोजित ५ लाख रुपैयाँ बजेट बाँडफाड गरेर कार्यक्रम सञ्चालन गर्ने बेला विवाद हुँदा वडाध्यक्ष अधिकारीले नेपालीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोप लगाइएको छ । ५ लाख रुपैयाँ मध्य ४ लाख रुपैयाँ महिला र १ लाख रुपैयाँ दलित लक्षित कार्यक्रमलाई विनियोजन गरिएको थियो ।
महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेटबाट एकलौटी निर्णय गर्दै वडाध्यक्ष अधिकारीले हस्तकला तालिम उद्घाटन गर्ने क्रममा विरोध गरेपछि वडा सदस्य नेपालीमाथि गालीगलौजमा उत्रिएको भन्दै उजुरी परेको छ ।
पक्राउ परेका वडाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । ४ जना वडा सदस्य भने नेकपा एमालेबाट निर्वाचन छन् ।