पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । बिहीबार राति सम्पन्न मतगणना अनुसार शर्मा प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।
शर्माले मायानाथ अधिकारीलाई पराजित गरेका हुन् । म्याग्दीका नवराजले ५ सय ३१ र लमजुङका मायानाथले ३ सय ६५ मत प्राप्त गरे ।
नवराजलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र मायानाथलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको साथ थियो ।
उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् । गुरुङले ५ सय ३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।
सचिवमा लमजुङका धनज्वय दवाडीले ५ सय २० मत लिएर विजयी भए । सचिवका अर्का उम्मेदवार कास्कीका रश्मी आचार्यले ३ सय ६७ मत प्राप्त गरे ।
उपसचिवमा कास्कीका दामबहादुर विकले ४ सय ९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३ सय ९७ मत ल्याए । उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५ सय ३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३ सय ६५ मत ल्याइन् ।
सर्वसम्मत हुन नसकेपछि दुवै जना प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । बिहीबार सॉझ मतदान भएको थियो ।