देउबहादुर दुराको नीधनले लमजुङ्गे ठाडोभाका लोकगीतको फाँटमा सन्नाटा छायो । पञ्चसुब्बा गुरुङ,र मैरानीले दुराले पनि मल्हमपट्टी गर्न सकेनन् । सुस्ताउँदै गएको ठाडोभाका लोकगीतलाई जीवन्त राख्न प्रयास गर्ने व्यक्तित्वको अभाव खट्किदै गयो । बिस्तारै लमजुङको ठाडोभाका लोकगीत लोपको सघारमा पुग्न पुग्न लाग्यो । वि.सं १९९१ जेष्ठ १८ गतेका दिन कम्पाउण्डर ( बोलचालमा डा) देवी गुरुङ थानसिंङ्गनेटा गा.वि.स ६ गोद्रा लमजुङमा जन्मेका थिए । उहाँ आकबहादुर गुरुङ्ग र अतिसरा गुरुङ्गका पुत्ररत्न हुनुहुन्थ्यो । उहाँका परिवारमा श्रीमती शोभा गुरुङ्ग र श्रीमती देबकुमारी गुरुङ्ग, १ छोरा र एक छोरी रहेका छन । गुरुङ्ग परिवारमा हुर्किएर पनि गुरुङ्गजीमा सात्विकी पन रहेको छ । शाकाहारिता उहाँको जीवनको आदर्श हो । उहाँ माछा मासु एवं रक्सी चुरोटको दुव्र्यसनबाट टाढा हुनुहुन्छ । उहाँले आफ्नो दैनिक खानपिनमा सात्विकीपन अङ्गिकार गर्ने र समाजका अरु सदस्यहरुलाई पनि साकाहारी बन्न सल्लाह र सुझाव दिने गर्नु हुन्थ्यो । किशोर अबस्थाबाट युवा अबस्थामा प्रवेश हुंँदा नहुँदै उहाँलाई नेपाल प्रहरीमा जागिर खाने उत्सुकता बढ्यो । अन्ततःवि.सं. २०१८ सालमा नेपाल प्रहरीमा भर्ती पनि हुनु भयो । गाउंँमा लाहुरेहरुको राम्रै धाक रवाफ देखेका गुरुङ्गलाई भारतीय सेनामा लाहुरे बन्ने रहर पलायो । त्यही रहरले वि.सं. २०१९सालमा नेपाल प्रहरीको जागिर छोडेर मुग्लान पस्नु भयो । नेपाल प्रहरीमा जागिर खाएका गुरुङ्गलाई भारतीय सेनामा जागिर मिलेन । तथापि सन १९४८ मा उहाँ भारत सरकारको CRP–center reserve police westbangal काे प्रहरी सेवामा भर्ती हुनु भयो । सन १९४८ देखी १९५३ सम्म उहाँले भारतीय प्रहरी फोर्समा रहेर ५ वर्ष सेवा गर्नु भएको थियो । भारतीय प्रहरीमा सेवामा रहंदा रहदैं उहाँले स्वास्थ्य सम्बन्धी कम्पाउण्डर तालिम लिने मौका पाउनु भयो । चञ्चले स्वाभावका गुरुङ्ग भारतीय प्रहरी सेवा लामो सेवामा रहन सकेनन । गाउंघरका साथीभाई सङ्ग ठाडोभाका लोकगीत गाएर हिंडेको झलझली सम्झना आयो । देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङले रोपेर हुर्काएको ठाडोभाका लोकगीत लोपको संघारमा पुगेको देख्दा गाउंँघरका साथीभाई र ठाडोभाका लोकगीतको हरपल सम्झना गर्दथे । ठाडोभाका लोकगीत लोपको संघारमा पुगेको देख्दा लाउरे सिपाही देवीबहादुर गुरुङ्गको मनमा छटपटी भयो । लोकभाकागीत संरक्षणकै लागि कम्पनीको जागिर हापेर भए पनि गाउँमै फर्किए । उहाँको यस अभियानमा उहाँका पिता आकबहादुर गुरुङ्ग र आमा अतिसरा गुरुङ्गले लाहुरे छोरा देवी गुरुङको कदमलाई मौन सहमती प्रदान गरे । साच्चै भन्ने हो भने ठाडोभाका लोकगीतलाई जीवन्त राख्न अथक प्रयास गर्ने व्यक्तित्वको नाम देवीबहादुर गुरुङ्ग हो भन्दा परक नपर्ला ।
कम्पनीको जागिर हापेर घर फर्केका देवी गुरुङले सन १९४८ देखि सन १९५३ सम्म भारतीय प्रहरीको जागिर खाँदा सिकेको स्वास्थ्य सम्बन्धी कम्पाउण्डर तालिम उहाँको जीवनको आदर्श बन्न पुग्यो । सोही तालिमले उहाँलाई मेडिकल हल सञ्चालन गरेर बस्न उत्प्रेरित गरायो । अन्ततःउहाँले लमजुङ्गको नेटा सुन्दरवजारमा थानसिङ्गमा मालिकामाई मेडिकल हल सञ्चालन गरेर बस्नु भयो । वि. सं. २०१८ साल देखी २०३६ साल सम्म उहाँले मेडिकल हल सञ्चालन गरेर लमजुङ्ग, तनहुँ र कास्कीका सर्वसाधरण नागरिकहरुको स्वास्थ्य सेवा पु¥याउनु भएको थियो । वैद्य र कविराजको सेवाबाट बञ्चित त्यहाँका नागरिकहरुले उहाँलाई कपाउण्डरको सट्टा डाक्टर साहेव भनेर बोलाउने गरेका थिए । हजारौं नागरिकहरुको घाउ खटिरा लगायत साधारण किसिमका अपरेसन(चिरफार) गर्ने डाक्टर गुरुङ्ग ठाडोभाका लोकगीत सुस्ताएको देख्दा साह्रै नै पिरलिएका थिए । उहाँको यस कार्यमा श्रीमती शोभा गुरुङ्ग र श्रीमती देबकुमारी गुरुङ्ग, छोरा र छोरीले पनि होस्टेमा हैसै गरे । विसर्जन उन्मुख ठाडोभाका लोकगीत संरक्षणका लागि शिवरात्री मेला, एकादशी बजार, फागुपूर्णिमा मेला, चैतेदशै मेला विवाह व्रतवन्ध, उत्सव महोत्सवहरुमा डा. (कम्पाउण्डर ) देवी गुरुङ र भेडीखर्के साइला रामलक्ष्मण बनेर हिडेका थिए । डा देवी गुरुङकै प्रेरणामा भेंडीखर्के साइला उर्फ दीर्घराज अधिकारी ठाडोभाका गीतका नायक तथा स्वरसम्राट बन्न पुग्नु भयो । उहाँकै सहयोगमा बुद्धिमान दुरा “धम्पु”, शङ्कर परियार, उत्तम गुरुङ, राधा भण्डारी , मञ्जु वि.क. लगायतका अरुपनि ठाडोभाका गीतमा जमेका छन् । गुरुङ आफै प्यारालाइसिसले थला परे पनि ठाडोभाका गीत सरक्षण गर्न डा देवी गुरुङ हिंजो अस्तीसम्म मरिमेटेका थिए ।
ठाडोभाका लोकगीतलाई जीवन्त दिन गुरुङ्गले भेंडीखर्के साइला, लक्ष्मी दुरा,लगायतका गायक गायिकाहरुलाई पूजाआजा, दशैं , एकादशी जात्रा , माघे सक्रान्ति, अन्य पर्व मेला, विवाह–व्रतवन्ध ,उत्सव–महोत्सवहरुमा, लोकगीत प्रतियोगिताहरुमा निकटका सङ्गे–साथीहरुलाई उपस्थित गराउने संगीतका राजदुत मानिन्छन् । गुरुङ्ग आफु पनि ठाडोभाका लोकगीत गाँउछन् र ,अरुलाई पनि गीत गाउन उत्प्रेरित गर्छ्न् । ठाडोभाका गीत गाउन सिक्न चाहने नवोदित लोकगायकहरुलाई गीत गाउन पनि सिकाउँछन देवीबहादुर गुरुङ्ग । उहाँले नै भेडीखर्के साइला जस्ता युवायुवतीहरुलाई ठाडोभाका लोकगीत गाउन डोराउनु भयो । डा. देवी गुरुङका प्रेरणाले भेंडीखर्के साइला ठाडोभाका गीतका नायक तथा स्वरसम्राट पनि बन्न पुग्नु भयो । उहाँकै सहयोगमा बुद्धिमान दुरा “धम्पु,” शङ्कर परियार, उत्तम गुरुङ, राधाभण्डारी लगायत अरुहरु पनि ठाडोभाका गीतमा जमेका छन् । यसरी डा.देवी गुरुङले ठाडोभाका लोकगीतका धैरै जसो गायक गायिकाहरुलाई ठाडोभाका गीत गाउने तौरतरिका सिकाएर ठाडोभाका गीतलाई गोडमेल गर्दै संरक्षण गर्नु भएको पाउँदछौं । लोकगीतका माध्यम बाट धर्म र दर्शनका विचारहरु पनि उहाँले धाराप्रवाह रुपमा बगाउंदै आउनु भएको थियो । ठाडोभाका गीतलाई जीवन्त राख्नमा उहांले गरेका योगदानहरु हामी सबैले सदैव स्मरण गर्नै पर्दछ । वेदव्यास जन्मभूमि दमौलीको वर्णन गरेर नथाक्ने संगीतका साधक गुरुङ्गले दमौलीवासीहरुलाई धेरै ऋृण बोकाउनु भएको छ । ठाडोभाका संरक्षणमा मात्र होइन उहाँले श्री कृष्ण द्वैपायन वेदव्यास जन्मभूमि तनहुं दमौली नै हो भनी गीतकै माध्यमवाट स्वदेश एवं विदेशमा प्रचार प्रसार गर्न अहोरात्र खटिनु भएको थियो देवी बहादुर गुरुङ्ग । विचारका खानी र ठाडोभाका गीतका संरक्षक गुरुङ्ग तनहुँ लमजुङ्गको मात्र नभएर समग्र नेपालकै आदरणीय पुरुषरत्न हुनुहुन्छ ।
गुरुङ्गजीको अभिन्न मित्र भेडीखर्के साइला हुन । लोकभाका गीतका लागि भेडीखर्के साइला र देवीबहादुर गुरुङ्ग यस भाकाका सर्जक देउबहादुर दुरा र मनिराम दुरा जस्तै राम–लक्ष्मण हुन् । भेडीखर्के साइलालाई ठाडोभाका लोकगीत गायन क्षेत्रमा लाग्न देवीबहादुर गुरुङ्ग र प्रदिप उपाध्यायले पनि थप उर्जा प्रदान गर्नु भएको तितो सत्य हो । त्यसैले त भेडीखर्के साइला र देवीबहादुर गुरुङ्ग हरेक कार्यक्रममा सङ्गसङ्गै देखिन्थे । पूजाआजा,विवाह–व्रतवन्ध,उत्सव–महोत्सवमा,श्रीमद्सप्ताह ज्ञानमहायज्ञ र कवि सम्मेलन तथा प्रतियोगिताहरुमा गीत गाउँंदैमा उहांँहरुको दिन चर्या बितेको पाइन्थ्यो। ठाडोभाका लोकगीत सँरक्षण क्षेत्रमा साइला भन्दा गुरुङ्ग अगाडि भए पनि गायन क्षेत्रमा साईला भन्दा गुरुङ्ग पछाडि परेका तितो सत्य हो ।
गायक गायिकाहरुको नजरमा देवी गुरुङ
कास्कीका बुद्धिमान दुरा र तनहुँ बन्दिपुरकी उत्तम गुरुङबीच भएको ठाडोभाका दोहोरी गीतमा देवीबहादुर गुरुङको विषयमा गीतकै लयमा बुद्धिमान दुरा धम्पुले यसरी व्यक्त गर्नु भएको थियो ।
ह हा हा हो हो हिमालचुली धक्र्यो हजुर बाह्रथर थक्र्यो, ढोर पुग्यो गै जाला ।
धाउने चरी धा छ ,
पशुपतिको मन्दिर मुनी इन्द्रेनीको आँगनमा लमजुङ , तनहुँ ,नेपाल भरीको
कलाकार इष्ट मित्र देवी गुरुङको नाममा आज भेटघाट भा छ ,
हो हो हो दर्शन ढुङ्गा फोरी ,
देवी गुरुङलाई आज सबै कलाकारहरुले दशैं औंला जोरी,
दिनु पर्ला दर्शन
ह हा हा शिःसाघाटलाई डुङ्गा हजुर पत्थरघाटलाई खुङ्गा, कहाँ थापुँ ढडिया (३)
हा हा हा सुन काटेर गजुर
सन्जोग र जो मेसोले मात्रै तिम्रो हाम्रो इष्ट सङ्ग भेट हुन पाउँछ हजुर
धाउने चरी धायो,
देवी डाक्टर थाहा पाको देखें, मैले हजुर कलाकारको ठूलोभ¥याङ भयो ।
अरनीलाई तायो, चिम्टा जस्तो साथी भेंडीखर्केले छोडेर गयो,
यो सालमा त देवी ठाक्टर पनि धन्नै गइन,
बोल्न नसके पनि कलाकार इष्टमित्र
सङ्ग भेट्नको लागि बाँची रह्यो
धाउने चरी धाइ छ बाँच्न पर्ने रहिछ हुनी सबैलाई बढीया ।
हा हा हा हो हो हो झ्याम्म र झुम्म पारीमा आयो लाग्यो बरिषा
धाउने चरी धायो , जुनदिनमा भेंडीखर्के दाइ गयो
त्यही दिन देखि तिम्रो मेरो पनि भेटघाट डाँडा वारी पारी भने जस्तो भयो
हा हा हा हो हो धाउने चरी धाइछ
इष्टमित्र गुरुको नाममा एक महिना सम्म स्वस्थानीको व्रत बसे रहिछ
साली नदी छेउ इन्द्रेनीको आँगनमा
मैले भेट हुन पायो यही मा लायो हरिष ।।
हा हा हा किरेमिरे पोथीको बाह्रबिसा चल्ला, जुरे चिल भताभत ,
धाउने चरी धायो , धाउने चरी धायो
गाउँ धरको बाउ बाजेले बनाएको चौतारी मोटरको बाटो ल्याउँदा खेरी सबै भत्केर गयो
तिमी हामी भेट हुने थलो इन्द्रेनीको आँगन भयो ।
हो हो हो पहिलो अक्षर क ता देवीडाक्टर पनि नभएको भा त हुन्थ्यो हामी कता कता ।
गीत गाउने ठाडोभाकाको निहुँले ,
मन कैले पनि नफेर्नु है तिम्ले, पञ्चाग्नी तापौंला
हा हा हा बादल बस्यो घेरा ,
देवी मामाले नै हाम्लाई यो बाटो हिंड्् है भनी सल्लाह दिनु भको हो हेर,
उनैको नामले पञ्चाग्नी ताप्दै बस्नु पर्छ हाम्ले उन्कै नाम जपौंला ।
अन्त्यमा
ठाडोभाका लोकगीतका नायक—नायिकामा मनिराम दुरा, जमान सिंह दुरा भैरे रानाभाट, पेचेरे दुरा, पञ्चा दुरा ,भक्ति दुरा,आफली घर्तिनी , पुतली सर्किनी , श्रीमाया सर्किनी र रुपा मिया, कहलिएका गायक गायिकाहरु हुुन् भने अहिले आएर चर्चित बनेका लमजुङका गायक गायिकाहरुमा बुद्धिमान दुरा “धम्पु”, राजु परियार, राधा भण्डारी, मञ्जु वि.क र तनहुँका शङ्कर परियार, उत्तम गुरुङ, ज्ञानुमाया थापा शिला आले र सुशिला (कृष्ण) दुरा ,कास्कीका नविन बराल , नवलपुर गैंडाकोटकी सावित्री शाही मानिन्छन् । नेपाली लोकसंस्कृतिमा ठाडोभाका लोकगीत बहुमूल्य साँस्कृतिक सम्पती बनेको छ । देउबहादुर र पञ्चसुब्बाहरुले विजारोपण गरेको ठाडोभाका गीतलाई उकेरो लगाउने लमजुङ्गे डा.देवीहादुर गुरुङनै हुन् । देवीगुरुङ हाम्रा माझबाट अस्ताए पनि ठाडोभाका गीत संरक्षणमा उन्ले दिएको अमूल्य योगदानको स्मरण गर्दै सनातन धर्मका प्रणेता महर्षि वेदव्यास सङ्ग मृतआत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछु ।
सन्दर्भ श्रोत:
देउबहादुर दुरा ठाडोभाकाका लोकनायक—यम बहादुर दुरा
चित्रण मेरो गुरुकुल शिक्षा र यात्रा संस्मरण—श्री विष्णुहरि पौडेल ।
डा. देवी गुरुङ सङ्गको भेटवार्ता
मिर्लुङकोट र सेरोफेरो — देव बस्न्यात