दमाैली । आज तिहारको मुख्य दिन भाइटीका । दिदी बहिनीले दाजुभाइलाई निधारमा सप्तरङ्गी टीका, गलामा मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गरी मनाएका छन् ।
तिहारमा विशेषतः दिदी बहिनीले दाजुभाइलाई भाइटीका लगाइदिने प्रचलन छ । आफ्नै दिदी बहिनी नहुनेले पनि आफन्त र छरछिमेकका दिदी बहिनीसँग भाइटीका थाप्छन् ।
तर, तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले भने एक अर्कालाई भाइटीका लगाएर मनाएका छन् । सुरुमा दाजु मदनले भाइ सुमनलाई पानी र तेलको धारो चुहाउँदै फेरो मारे। भाइटीकाको प्रक्रिया अनुसार निधारमा सप्तरङ्गी टिका लगाएर उनले फूलको माला गलामा पहिराइदिए । भाइको शत्रु नास र दीर्घायुको कामना गर्दै ओखर फाेरे । त्यसपछि भाइ सुमनले दाजु मदनलाई भाइटिका लगाइदिए ।
आफ्नै घरमा दिदी बहिनी नभएपछि छ वर्षदेखि भाइटीका यसैगरी मनाउँदै आइरहेको मदनले बताए । मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । मदनले भने, “आफन्त दिदी बहिनीको हातबाट टिका थाप्दै आइरहेका थियौं । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो । हामी टिका थाप्न कुरिरहेका थियौं । नआएपछि मन खल्लो भो । त्यसपछि हामी दाजुभाइले नै भाइटीका गर्ने सोच बनाएर सुरु ग¥यौं । त्यसपछि निरन्तर एक अर्कालाई टिका लगाएर भाइटिका मनाउँदै आइरहेका छौं ।”
मदन र सुमनले भाइटिका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटिका लगाउने सामाजिक मान्यता थिएन । सुरुको वर्ष उहाँहरू आफैंलाई पनि असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं भाइटीका’ भन्नेहरू धेरै भेटिए । तर, उनीहरुले सुरु गरेको भाइटीकालाई निरन्तरता दिन भने छाडेनन् ।
दिदी बहिनी नभएपनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने सुमनले बताए। उनले भने, “दाजुभाइले भाइटीका गर्दा सम्बन्ध पनि सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिएर भाइटिका मनाउँछौं ।”