दमाैली । तनहुँको व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (इ)ले बुधबार २० औं वार्षिकोत्सव मनाएको छ । विसं २०६० मङ्सिर १८ गते स्थापना भएको गणले विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै कर्णेल कमाण्डाण्ट सहायकरथी कृष्णमुरारी न्यौपानेले नेपाली सेनाको छवि उच्च बनाउने काममा कालीभञ्जनले महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
पृतनापति उपरथी दीपककुमार बानियाँले जिल्लाको शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिका सराहनीय गर्दै विपद् व्यवस्थापन, पुननिर्माणका काममा सेनाले सहयोग गर्दै आएको बताए।
‘ज्ञान, सीप र कर्म’ आदर्शवाक्य बोकेको कालीभञ्जन गण (इ) ले तालुक अड्डाको निर्देशन बमोजिम प्रत्येक भूमिका तथा जिम्मेवारी सर्वश्रेष्ठ रुपमा निर्वाह गर्दै आएको गणपति प्रमुख सेनानी रामज्योति बोहोराले बताए। गणले मध्यकमाण्ड अन्तर्गतका युनिटहरुलाई कम्व्याट इन्जिनियरिङ सहयोग गर्दै आएको उनको भनाई थियो ।
सो अवसरमा नृत्य, गायन कला प्रस्तुत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा उत्कृष्ट जवानको उपाधि दिपेश भट्टराईले पाएका छन्। त्यस्तै खेलकुदमा गण हेडक्वाटर उत्कृष्ट गुल्म भएको छ ।
चारपूर्व अवस्थित फिल्ड कम्पनीहरु (नं १, २, ३ र ६) लाई समायोजन गरी गणको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म कालीभञ्जन गण विभिन्न स्थानहरुमा स्थानान्तरण भइरहेको छ ।
यसगण गौचर व्यारेक एयरपोर्टमा स्थापना भई विसं २०६१ असोज ३ गते तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटरको परिसरभित्रको फूलबारी व्यारेकमा स्थानान्तरण भएको थियो । २०६१ चैत १६ गते पोखरा विमानस्थलको सुरक्षार्थ पोखरा एयरपोर्टमा स्थानान्तरण भएको गण २०७५ वैशाख १४ गते एयरपोर्टबाट तत्कालिन श्री पश्चिम पृतना हेडक्वाटर परिसरभित्र विजयपुर व्यारेकमा स्थानान्तरण भएको थियो ।
नेपाली सेनाको अपरेशनल आवश्यकता अनुरुप गणलाई विसं २०७६ माघ १० गते चापाघाट व्यारेकमा स्थानान्तरण गरिएको थियो ।