काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना सङ्क्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको छ ।
अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँदिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।
यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपालीको मृत्यु भएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण विदेशमा मात्र १ सय ८९ जना नेपालीको मृत्यु भएको छ ।