दमाैली । संविधानसभा सदस्य झुलबहादुर आले स्मृति प्रतिष्ठानले ऋषिङ गाउँपालिका–७ का चार विपन्न परिवारलाई कम्बल वितरण गरेको छ । आर्थिक रुपमा विपन्न यहाँका चार परिवारलाई प्रतिष्ठानले चिसोबाट बच्न कम्बल वितरण गरेको हो ।
सामाजिक काम गर्ने उद्धेश्यसहित स्थापित प्रतिष्ठानले आर्थिक रुपमा विपन्न भएका परिवारलाई सहयोग गर्दै आएको प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले जानकारी दिए।
चिसो मौसममा कसैलाई पनि अप्ठ्यारो नहोस् भन्ने उद्धेश्यसहित विपन्न परिवार छनोट गरी सहयोग गरिएको उनको भनाइ छ ।उनका अनुसार श्यामलाल श्रेष्ठ, चित्रबहादुर थापा, केदार क्षेत्री र श्याम विकलाई सहयोग गरिएको हो ।
प्रतिष्ठानले केही समय अगाडीमात्रै यहाँका दुई परिवारलाई विद्युतीय चुलो हस्तान्तरण गरेको थियो । प्रतिष्ठानले दुवै परिवारको एक वर्षसम्मको विद्युत र खानेपानीको महशुल समेत तिरिदिने भएको छ ।
प्रतिष्ठानले सो वडाका वृद्धवृद्धालाई सहयोग गर्नका लागि रु दश लाख बराबरको अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट प्राप्त हुने व्याजबाट वार्षिक रुपमा असहाय, विपन्न वृद्धवृद्धालाई सहयोग गरिने प्रतिष्ठानले जनाएको छ ।
नेपाली काङ्ग्रेसका नेता स्वर्गीय आलेको योगदानलाई चीरस्थायी बनाउन कमलबहादुर आलेको अध्यक्षतामा झुलबहादुर आले स्मृति प्रतिष्ठान गरिएको छ ।