अर्थमन्त्री स्वर्णीम वाग्लेलाई “मात्र एउटा” अनुरोध!
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    अर्थमन्त्री स्वर्णीम वाग्लेलाई “मात्र एउटा” अनुरोध!

    रवीन्द्र मिश्र

    २१ बैशाख २०८३, मंगलवार

    पहिले अलिकति भूमिका:

    स्वर्णिम वाग्लेलाई मैले नजिकबाट चिनेको ३० वर्षभन्दा बढी भयो। उनले द्रूत गतिमा चढेको जिन्दगीको भर्याङको म निरन्तरको साक्षी हुँ।त्यतिबेला बालेनजी र रवीजीको उदय भइसकेको थिएन। म स्वर्णीमजीलाई बारम्बार भन्ने गर्थेँ “ली क्वान यूको “प्रजातान्त्रीक रूप” हुनसक्ने बहूआयामिक क्षमताले पूर्ण, नेपालमा मैले देखेको एकमात्र व्यक्ति तपाईं हो।” (अर्थमन्त्रीको पदको सम्मान स्वरूप मैले उनलाई यो सार्वजनिक टिप्पणीमा प्रत्यक्ष वचन प्रयोग गर्दा ‘तपाईं’ले संवोधन गरेको हुँ। अन्यथा सानैदेखिको सम्वन्धका कारण ‘तिमी’ भन्ने गर्दछु।)उनी राजाले बनाइदिएको बुढानिलकण्ठ स्कूलमा पढेर ‘प्रचण्डपथगामी’ भए। म जनताले योगदान गरेर बनाएका डोटी र दार्चुलाका स्कूलमा पढेर ‘पृथ्वीपथगामी’ बनेँ।उनी सुशासनबाट देशको दिर्घकालीन हित सुनिश्चित हुन्छ भन्नेमा ढुक्क छन्। म सुशासनसँगै देशको शान्ति, स्थिरता, सम्मान तथा सामाजिक, धार्मिक, सांस्कृतिक एकताको प्रतिक राजसंस्थालाई पनि साथसाथै नलग्ने हो भने बदलिँदो विश्व भूराजनीतिमा नेपाल #अस्तित्वकोसंकट उन्मुख हुनेछ भन्नेमा विश्वस्त छु। यो हाम्रो जीवनको छुट्टै पाटो हो।

    आज उनी अर्थमन्त्री बनेका छन्। उनले एउटा कार्यक्रममा भने: “नेपाली जनताविरूद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा मेरो शरिर काँप्छ।” त्यसो भन्दा उनको इमान र पीडा उनको आँखामा झल्किन्थ्यो।अब मेरो “एकमात्र” अनुरोध:“नेपाली जनता विरूद्ध गरिएको त्यो स्तरको अपराध र लुट देख्दा [तपाईँको] शरिर काँप्छ।” तर शरिरमात्र होइन आत्मा नै काँप्ने अर्को एउटा गम्भिर विषय छ: नेपाली भूमी विरूद्ध गरिएको चरम अत्याचार देख्दा मेरो आत्मा नै काँप्छ।किनभने, सुशासन विग्रियो, शिक्षा/स्वास्थ्य/पर्यटन/कृषी नीति बिग्रियो भने, त्यसलाई सुधार्न सकिन्छ। गरिवी र विपन्नतालाई सुधार्न सकिन्छ। जब भू-उपयोग नीत बिग्रिन्छ, एकाध अपवादबाहेक, त्यसलाई सदियौँसम्म सुधार्न सकिँदैन।हाम्रो शहरीकरण, वस्ती व्यवस्थापन र भू-उपयोग सबै नीति बर्बाद छ। आजभन्दा ३० वर्षपछि काठमाडौँ उपत्यका र देशका ठूला शहरको हाल के होला? गरिवको सुकुम्वासी वस्ती हटाएजस्तो सजिलो हुँदैन “धनीहरूको सुकुम्वासी वस्ती (अर्थात बिग्रिएको शहर)” हटाउन। यो संसारभरीकै यथार्थ हो।यहाँ मैले बढी व्याख्या गर्न चाहिन as you have travelled the world and you know it far better than me.यत्तिमात्र भन्छु: नेपालको लागि सुहाउँदो बैज्ञानिक शहरीकरण, वस्ती व्यवस्थापन र भू-उपयोग नीत निर्माण गर्न तपाईंहरूलाई समय लाग्छ। यो वर्षको बजेटमा तपाईंलाई अर्थतन्त्रको उद्वेलनका लागि ‍गर्न मन लागेका धेरै काम होलान्। सार्वजनिक शिक्षा/स्वास्थ्य र गरीवहरूका लागि गर्नु पर्ने कयौँ काम होलान्।

    अर्थतन्त्र उद्वेलित पनि होला, मध्यमवर्गको विस्तार होला, गरिवी घट्ला, शहरहरूको विकास होला — तर शहरहरूमा मान्छेले सास फेर्न नसक्ने स्थिति भयो भने के गर्ने? जबकी नेपालमा मात्र होइन संसारभरी शहरीकरण तिब्ररूपमा बढीरहेछ। नेपालमा गाउँहरू खाली हुन थालिसके।त्यसैले, अहिले नै बढी केही गर्न नसके पनि, खासगरी हाम्रो पुस्ताले छियाछिया पारेको राजधानी शहर, काठमाडौँ उपत्यकामा, कम्तिमा हरेक ३/४ किलोमिटरको अन्तरमा रङ्गशालाको आकारको जमिन चरणवद्धरूपमा अधिग्रहण गरेर त्यसलाई केटाकेटी तथा युवाहरूको खेल मैदान बनाउन/पार्क बनाउन बजेट मैँ व्यवस्था गर्नुहोस् भन्ने मेरो अनुरोध छ।सरकारले जग्गा अधिग्रहण गर्दा जहिले पनि बजारमा चलेको भन्दा केही बढी मूल्य दिनुपर्ने हुन्छ। त्यति भयो भने सामान्यतया जग्गा अधिग्रहणमा कुनै समस्या हुँदैन। जग्गा अधिग्रहणसम्वन्धी कानून त संभवत: तपाईँहरूले अध्यादेशमार्फत संसोधन गरिसकेको हुनुपर्छ।त्यति नगर्ने हो भने अबको ३० वर्षमा यो विशिष्ट ऐतिहासिक, धार्मिक, सांस्कृति, पर्यटकीय महत्व बोकेको राजधानी शहरमा मानिसहरू बस्नै नसक्ने स्थिति सृजना हुनेछ। यो पूर्णत: अव्यवस्थित कंक्रिटको जङ्गल बन्नेछ।यो वर्ष तपाईँले ल्याउने बजेट, अनेकौँ सिमितताहरूका अलावा, नेपालको इतिहासमैँ आमूल परिवर्तनकारी कोशेढुङ्गा हुनेछ भन्ने मैले विश्वास राखेको छु।यो सन्देश अर्थमन्त्रीसम्म पुगोस् भन्ने चाहेको छु।