


दमाैली, १५ जेठ । नेपाल पर्यटन बाेर्ड र बन्दीपुर गाउँपालिकाकाे समन्वयमा नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी डकुमेन्ट्री निर्माण गर्ने क्रममा बन्दिपुरको मौलिक सांस्कृतिक पहिचान बोकेको चुड्का नृत्यलाई समेटिने भएको छ।
डकुमेन्ट्रीमा करिब एक मिनेट अवधिसम्म बन्दिपुरको परम्परागत चुड्का नृत्य प्रस्तुत गरिने जनाइएको छ। यसका लागि हाल बन्दिपुरमा छायांकन कार्य सञ्चालन भइरहेको छ।
विशेषगरी उक्त सुटिङका क्रममा भारतकी चर्चित डान्सर तथा कोरियोग्राफर शक्ति माेक्तानसँग बन्दिपुरको चुड्का नृत्य समूहको सहकार्य भएको छ। स्थानीय कला र अन्तर्राष्ट्रिय स्तरका कलाकारबीचको यो सहकार्यलाई बन्दिपुरको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
स्थानीय सरोकारवालाले यसले बन्दिपुरको कला, संस्कृति र मौलिक परम्परालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। विशेषगरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत विश्वभर दर्शकमाझ पुग्ने यस्ता सामग्रीले बन्दिपुरलाई सांस्कृतिक तथा ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा ग्रामीण तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न अभियान सञ्चालन भइरहेका छन्। सोही सन्दर्भमा बन्दिपुरलाई नेपालको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यको प्रतिनिधि गन्तव्यका रूपमा अघि सार्ने प्रयास भइरहेको जनाइएकाे छ ।
पर्यटनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत यस्ता डकुमेन्ट्री र सांस्कृतिक प्रस्तुतीकरणले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।